यी हुन एक ‘भाग्यमानी’ पत्रकार, जो बनिन् उपमहानगरपालिकाको उपप्रमुख
बाँके, २० असार । उमा थापा मगरलाई नेपाली कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएपछि यसले ठूलै चर्चा पायो। उम्मेदवार चयन हुनासाथ पत्रकार, आदिवासी जनजाति र उनका शुभचिन्तकले बधाई दिए। उनी आदिवासी जनजाति समुदायबाट उपप्रमुखकी एक्ली उम्मेदवार बनिन् र आदिवासी जनजातिले कांग्रेसले आफ्नो समुदायको सम्मान गरेको अर्थमा लिए।

नेपाली कांग्रेसका आदिवासी जनजाति नेता कार्यकर्ताले आफूहरुको अस्तित्वसँग उनको उम्मेदवारीलाई लिए। मत गणनाको सुरुवाती देखिनै उमाले अग्रता लिइन् र उनको अग्रतालाई अन्य दलका उपप्रमुखका उम्मेदवारले एक पटक पनि उछिन्न सकेनन्। नेपालगञ्जमा आदिवासी जनजाति समुदायको बाहुल्यता नभए पनि उनीहरुको भोट निर्णायक भने पक्कै थियो।
सँधैजसो ब्राहमण र क्षेत्रीले अवसर पाउनु र सामाजिक क्षेत्रमा उमाको सक्रियता अग्रभागमा रहेकोले उनलाई जित्न सजिलो भएको राजनीतिक विश्लेषक डा. जनार्दन शर्मा बताउँछन्। ‘कांग्रेसले आदिवासी जनजाति समुदायकी सामाजिक कार्यमा सक्रिय युवालाई उम्मेदवार बनाएकोले जित्न सजिलो भयो,’ उनले भने। सामान्य परिवारमा हुर्किएकी उनलाई निर्वाचनमा रकमको खासै खाँचो परेन।
नेपालगञ्जका धनाढ्य एवम् नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया प्रमुखका उम्मेदवार भएकोले पर्चा, पम्प्लेट छपाउन, ब्यानर बनाउन र कार्यकर्ता पाल्न उनलाई रकम खर्च गर्न परेन। उमा जित्नुमा कांग्रेसबाट मेयरका उम्मेदवार कनोडियाको ठूलो हात रहेको कांग्रेसकै नेता कार्यकर्ताहरु बताउँछन्।
नेपालगञ्जको उपप्रमुख पदमा कुन दलको उम्मेदवार सक्षम र प्रभावशाली भन्ने हिसाबले लेखाजोखा हुँदा शान्ति ढकाल र उमा नै अन्तिम प्रतिस्पर्धामा आउने अनुमान पहिल्यै थियो। अनुभवले खारिएकी, संघर्षले सेकिएकी नेकपा एमाले नेतृ शान्ति ढकालसँग उमालाई ठूलो डर पनि थियो। तर, परिणाममा त्यो डर गाईको लहरले छिचोल्न सफल भएपछि उपप्रमुखमा उमा अब्बल दरिइन्।
को हुन् उमा थापा मगर? नेपालगञ्ज उपमहानगरपालिका–१, धम्बोझी स्थायी घर भएकी उमा थापा मगर नेपाली कांग्रेसमा हाई प्रोफाइल भएको नेता होइनन्। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी उनी नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी यूनियनको कोषाध्यक्ष भएकी थिइन्। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य थिइन्।
आदिवासी जनजाति पत्रकार संघ बाँकेको अध्यक्ष समेत रहेकी उमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेका अध्यक्ष हुन्। उनले विद्यार्थी कालदेखि नै पत्रकारिता सुरु गरेकी थिइन्। सक्रिय पत्रकारितामा नरहेपनि उनी पत्रकारको राजनीतिमा भने सक्रिय थिइन्। उनी यसअघि नेपाल पत्रकार महासंघको केन्द्रीय सभासद थिइन्। उनी माघमा सम्पन्न नेपाल पत्रकार महासंघ बाँकेको निर्वाचनमा केन्द्रीय सभासदमा पराजित भएकी थिइन्।
राजनीति र पत्रकारिता सँगसँगै लगेकी ३७ वर्षीय उमा भाग्यमानी नेताको सूचीमा दर्ज भएकी छन्। नेपाली कांग्रेसको कुनै जिम्मेवारीमा नरहेकी उनी लायन्स क्लव अफ नेपालगन्ज इनोभेटिभका पूर्व अध्यक्ष एवम् लायन्स बर्ष २०१७/१८ का जोन चियर पर्सन समेत हुन्। दोस्रो संविधान सभा निर्वाचनमा उनी नेपाली काँग्रेसको समानुपातिक सूचीमा थिइन्। – थाहाखबरबाट


