‘कांग्रेसमा बसेर राजनीति गर्न गाह्रो भयो’ – यस्तो छ नेपाली कांग्रेसकै महिला नेत्रीहरूको गुनासो…
काठमाडौँ । नेपाली कांग्रेसका नेत्रीहरुले पार्टीले महिलालाई उपेक्षा गरेको बताएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक संरचनामा महिला प्रतिनिधित्वको भूमिका र चुनौती’ विषयक कार्यक्रममा नेत्रीहरुले पार्टीले महिलालाई उल्लेख्य सहभागिता गराउन नसकेको बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले महिलाले कांग्रेस पार्टीमा बसेर राजनीति गर्न गाह्रो हुने अवस्था आएको बताउनुभयो । जनता समाचारमा खबर छ ‘अरू पार्टीले सर्वोच्च पदमा महिलालाई प्रतिनिधित्व गराएका छन्’, उहाँले भन्नुभयो, ‘तर कांग्रेसले महिलालाई केही गर्न सकेको छैन ।’
कांग्रेस केन्द्रीय सदस्य एवं कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले महिलाको अधिकार संविधानले ३३ प्रतिशत तोके पनि कुनै पनि स्थानमा त्यति पुग्न नसकेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले कांग्रेसकै सरकारले मन्त्रिपरिषद्मा एकजना मात्र महिलालाई लगेर उपेक्षा गरेको बताउनुभयो ।
नेविसंघका कावा अध्यक्ष उर्मिला थपलियाले महिला पुरुषसरह सक्षम हुँदाहुँदै पनि अवसर पाउन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा नेविसङ्घले स्थानीय तहको निर्वाचनमा विजयी महिलालाई सम्मान गरेको थियो ।
सम्मानित हुनेमा कामपा उपप्रमुख खड्गी, मध्यपुरथिमि नगरपालिका उपप्रमुख अञ्जना मधुकर्मी, पञ्चदेवल नगरपालिका अछामका उपप्रमुख अम्बिका चलाउने र सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकका उपाध्यक्ष लक्ष्मी पौडेल रहनुभएको छ ।


