पाँच महिनादेखि एमालेका २१ केन्द्रीय नेता बेरोजगार !
काठमाडौं, १७ भदौ । एमालेका २१ केन्द्रीय सदस्यले पाँच महिनादेखि जिम्मेवारी पाएका छैनन् । २० फागुनमा झापामा बसेको स्थायी समिति बैठकले मनोनीत गरेका १२ पूर्ण र ९ जना वैकल्पिक केन्द्रीय सदस्यले जिम्मेवारी नपाएका हुन् । तराई केन्द्रित मेची–महाकाली अभियानका क्रममा एमालेले तराईबाट प्रतिनिधित्व गर्ने २१ नेतालाई एकैपटक केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो ।

नेताहरू रघुवीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र शाह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोइत, रवीन्द्र बैठा, लालबाबु यादव, यदुवंश झा र हरिनारायण महतो केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । वैकल्पिकतर्फ नारदमुनि राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सुधीर शाह, सरोज यादव, सरला यादव र महम्द हारुन मनोनीत भएका थिए ।
महासचिव ईश्वर पोखरेलले मनोनीत केन्द्रीय सदस्यलाई नयाँ जिम्मेवारी दिने गरी गृहकार्य अघि बढिरहेको बताए । उनका अनुसार कतिपय केन्द्रीय सदस्यको पुरानो जिम्मेवारीमा समेत हेरफेर गर्ने गरी केन्द्रीय सचिवालयले गृहकार्य सुरु गरेको छ ।
जिम्मेवारी नपाएकामा असन्तुष्टि
प्रदेश–२ मा स्थानीय तहको निर्वाचन तयारी अघि बढिरहेका वेला पनि पार्टीले परिभाषित जिम्मेवारी नदिएकामा मनोनीत केन्द्रीय सदस्य असन्तुष्ट देखिएका छन् । केन्द्रीय सदस्य रघुवीर महासेठले आफू पहिल्यै पोलिटब्युरो सदस्य भएकाले स्थायी समितिमा जिम्मेवारी पाउनुपर्ने लबिङ गरिरहेको स्रोतको दाबी छ । ‘म लोकतान्त्रिक मधेसी संगठनको अध्यक्ष भएकाले जिम्मेवारी अनुरूप सबैतिर क्रियाशील भइरहेकै छु । केन्द्रीय कमिटीमा मनोनीत गरेपछि के जिम्मेवारी दिने पार्टीले नै सोच्ने कुरा हो’, महासेठले भने,‘ अहिलेलाई पार्टीको दूरगामी योजना सफल बनाउन खटिएको छु ।
निर्वाचनअघि या पछि बस्ने केन्द्रीय कमिटीले पक्कै पनि जिम्मेवारी दिनेछ भन्नेमा विश्वस्त छु ।’ अन्य नेताहरूले पनि परिभाषित जिम्मेवारी नपाइएकाले निर्वाचनको काममा लाग्न असहजता पैदा भएको बताउने गरेका छन् । ‘पार्टीले जिम्मेवारी नदिएकाले हामीलाई बैठकमा उपस्थिति जनाउन, निर्वाचन तयारीको काममा लाग्न अप्ठ्यारो भएको छ’ अर्का एक मनोनीत केन्द्रीय सदस्यले भने ।
अध्यक्ष केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी तत्कालीन मन्त्रीलाई पनि उपयुक्त जिम्मेवारी दिने गरी केन्द्रीय सचिवालयले तयारी गरेको छ । नवौँ महाधिवेशनबाट निर्वा्चित १ सय ८५ र मनोनीत २१ सहित एमालेको केन्द्रीय कमिटी २ सय ६ सदस्यीय पुगेको छ ।
छिट्टै नयाँ जिम्मेवारी दिँदै छौँ : ईश्वर पोखरेल, एमाले महासचिव
केही साथीलाई जिम्मेवारी तोकिएको छ । मनोनीत अधिकांशलाई जिम्मेवारी दिन बाँकी छ । हिजो एउटा अवस्थामा कार्य्विभाजन भएको थियो । अब कतिपय साथीलाई नयाँ ढंगले कामको जिम्मेवारी दिनुपर्ने आवश्यकता छ । अब छिट्टै कामको जिम्मेवारी दिने गरी तयारी भइरहेको छ । असोजको पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकसम्म यो काम सम्पन्न गर्नेछौँ ।
– इनयाँपत्रिकाडटकमबाट


