एमाले को एउटा महत्वपूर्ण एजेण्डा, जसले एमालेलाई चुनावलगत्तै नयाँ बाटोमा लैजाने संकेत !
काठमाण्डौ । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टीले कार्यकारी राष्ट्रपतिको लाइन नछाडेको दाबी गरेका छन् । आइतबार राजधानीमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई बोलाएर गरिएको बहस कार्यक्रममा सचिव भट्टराई आफ्नो पार्टी एमाले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डामा अडिग रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै सचिव भट्टराईले अहिले नेपालको संविधानमा रहेको शासकीय प्रणाली अन्ततः असफल हुने ठोकुवा गर्दै विगतमा माओवादीका कारण यो एजेण्डा ओझेल परेको दाबी गरे । उनले भने, विगतमा माओवादीले दह्रो खुट्टा टेक्न सकेन र हामी पनि यो एजेण्डाबाट पछि हट्नुपर्यो ।
सचिव भट्टराईले परिस्थितिजन्य कारणले विगतमा एमालेले संसदीय पद्धति स्वीकार गरेको बताउँदै एमालेलाई कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री दुवै स्वीकार्य भएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिले पनि एमालेले नबिर्सिएको दाबी गरे ।
एमालेले उठाएको यो एजेण्डा सबै दलले मान्ने वातावरण बने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलगत्तै राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनमा मुलुक होमिनेछ । जसले एमालेले उठाउँदै आएको एउटा महत्वपूर्ण एजेण्डा पास भएको र सो पार्टीलाई नै नयाँ बाटोमा लैजाने निश्चित छ तर यो विषयमा माओवादी केन्द्र र कांग्रेस लगायतका दलहरुले अस्वीकार गर्दै आइरहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरीले पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए । उनले पार्टीभित्र आफु र नरहरि आचार्यले यो एजेण्डामा बहस चलाउँदै आएपनि पछिल्ला दिन आचार्य बिरामी परेपछि आफु एक्लो भएको खुलासा गरे । उनले भने, यो विषयमा मैले र नरहरिजीले लबिङ गरेका थियौ, तर उहाँ बिरामी परेर ढलेपछि म एक्लै परे ।
कार्यक्रममा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, माओवादी केन्द्रका शक्ति बस्नेत, कानूनविद भिमार्जून आचार्य,पत्रकार, निर्मला शर्मा, पूर्वगर्भनर तिलक रावल, लेखक युग पाठक लगायतले पनि बोलेका थिए । कार्यक्रममा बोल्ने सबै वक्ताले कार्यकारी राष्ट्रपतिको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।


