‘युद्धस्तरमा निर्वाचनको तयारी हुँदै’

काठमाडौँ, १६ फागुन । झन्डै दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

आयोगस्थित आफ्नै कार्यकक्षमा आज रासससँग कुरा गर्दै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक सामग्री जुटाउने, जनशक्ति व्यवस्थापन गर्ने र अन्य तयारी भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा उपलब्ध नभएका सामग्री जस्तै मतपेटिका, कागज, नउड्ने मसी, सिल, छेकावार आदि विगतमा झैँ विदेशबाट आयातका लागि तयारी भइरहेको छ ।” निर्वाचनमा करिब २१ हजार मतदान केन्द्र हुने र त्यसका लागि करिब ९० हजार मतपेटिका आवश्यक पर्ने बताउँदै उहाँले भन्नुभयो, “हाल आयोगसँग ७० हजार मतपेटिका मौज्दात छन् बाँकी अपुग मतपेटिका ल्याउने विभिन्न विकल्पका बारेमा छलफल भइरहेको छ, एक÷दुई दिनमा टुङ्गो लाग्छ ।”

नामावली सङ्कलन तथा मिलाउने कार्य अन्तिम चरणमा रहेको बताउँदै सचिव मैनालीले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन भने आवश्यक सर्त हो भन्नुभयो । आयोगले उक्त प्रतिवेदन सरकारलाई तत्काल उपलब्ध गराउन आग्रह गरेको र सरकारले यही साताभित्र उपलब्ध गराउने आश्वासन दिएको उहाँले जानकारी दिनुभयो ।

यसबाहेक आयोगले मतदाता शिक्षा दिने तयारी गरिरहेको र यसमा आमसञ्चार माध्यम तथा राजनीतिक दलबाट पनि सहयोगका लागि आह्वान गरेको छ । “जनताले निर्वाचन चाहेकाले निर्वाचन जसरी भए पनि हुन्छ । निर्वाचन हुँदैन भन्ने त म कल्पना पनि गर्न सक्दिन”– उहाँले भन्नुभयो ।

निर्वाचन गर्न कानुनको समस्या नपर्ने बताउँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने पाँचमध्ये चार कानुन प्रमाणीकरण भइसकेको जानकारी दिनुभयो । बाँकी रहेको राजनीतिक दलसम्बन्धी कानुन नआएका खण्डमा आयोगले उपलब्ध निर्वाचन आयोग ऐनको प्रावधानअनुसार संविधान र सङ्घीय कानुनका सन्दर्भमा बाधा अड्काउ फुकाउ आदेश जारी गर्नसक्ने अधिकार रहेको उहाँले उल्लेख गर्नुभयो ।

राजनीतिक दल तथा उम्मेदवारको सङ्ख्याअनुसार मतपत्र फरकफरक हुने र त्यसको तयारी भइरहेको बताउँदै उहाँले तराई र काठमाडौँ उपत्यकाका लागि ठूलो आकारको मतपत्र हुने जानकारी दिनुभयो । अन्य क्षेत्रमा भने उम्मेदवारको सङ्ख्याअनुसारको मतपत्र हुनेछ ।

नेपालमा पहिलोपटक एकै चरणमा स्थानीय निर्वाचन हुन लागेकाले चुनौती धेरै भए पनि व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “मतपत्र छाप्ने सम्पूर्ण जिम्मा जनकशिक्षा सामग्री केन्द्रलाई जिम्मा दिएका छौँ । प्रेस तयारी अवस्थामा रहेको र कागज मौज्दात छ ।”

निर्वाचनको प्रवेशद्वारबाट नै संविधानको वास्तविक कार्यान्वयन सुरु हुने धारणा व्यक्त गर्दै उहाँले निर्वाचनको तयारीका लागि आयोगसँगै सञ्चारमाध्यम, राजनीतिक दल, युवा, नागरिक समाजलगायत सबैको साथ रहेको उहाँले बताउनुभयो ।

यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावना कम रहेको जानकारी गराउँदै उहाँले यही फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।