सप्तकोशी पानीबोट दुर्घटना अपडेट : बालिका सहित ३ जनाको मृत्यु, तीन जना बेपत्ता(नामावली सहित)
धनकुटा । सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार २०८३ कात्तिक ८ गते दिउँसो करिब २ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना भएको हो ।
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरी टोलीले उद्धार गरी १२ जनालाई चतरा अस्पताल पुर्याएको थियो । उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लीला राई, करिब ६–७ वर्षीया बालिका र करिब ४०–५० वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेका अन्य यात्रुमध्ये केही पौडी खेलेर तथा उद्धारपछि सकुशल घर फर्किएका छन् । चालक २४ वर्षीय सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि झापाको कन्काई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बेपत्ताहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा १४ जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमान्डमा १६ जनाको टोली परिचालन गरिएको छ ।


