स्थानीय तहको चुनावी रौनक चुलिएसँगै आकांक्षीहरुको लर्को, पूर्व जनप्रतिनिधि कोही गुमनाम, कोही अझै चर्चामा
के गर्दैछन् पूर्व प्रतिनिधि ?
उर्लाबारी (मोरङ), २८ चैत । पूर्वी मोरङमा यतिबेला स्थानीय तहको चुनावी रौनक चुलिएको छ । मुख्य राजनीतिक दलले उम्मेदवारको औपचारिक घोषणा नगरे पनि आकांक्षीहरुको भने लर्को देखिएको छ ।
बीस वर्ष पछाडी हुनलागेको स्थानीय तहको निर्वाचनले उम्मेदवारको आकांक्षा गर्नेहरुको सङ्ख्या चुलिनु नौलो भने रहेन । पूर्वी उत्तरी मोरङमा बहुदल कालयताका दुई वटा स्थानीय निर्वाचनमा नेकपा एमालेको वर्चश्व रहँदै आएको छ ।
विसं २०४९ भएको निर्वाचन र २०५४ को स्थानीय निकायको निर्वाचनमा मोरङको पूर्वपश्चिम राजमार्ग आसपास र पहाडी भू–भागका सबै गाविस एमालेको पकड रहेपनि दुई दशकपछि हुन लागेको आगामी निर्वाचनमा त्यो बेलाको मतमा फेरबदल हुने अनुमान अन्य राजनीतिक दलमा छ । स्वतन्त्र मतदाताले भने स्थानीय तहको निर्वाचनमा पार्टी भन्दा पनि व्यक्ति हेर्ने भएकाले कुन दल र कुन व्यक्तिले जित्छ भन्ने भेउ पाउन मतपरिणाम नै कुर्नुपर्ने चर्चा छ ।
सुदूरपूर्वी मोरङको घना बस्ती भएको उर्लाबारी नगरपालिकामा विगतका दुई वटै स्थानीय निकायको निर्वाचनमा एमालेले जित हात पारेको थियो । विसं २०४९ मा दुई वटा वडामा पराजय भएको एमालेले २०५४ सालमा आइपुग्दा सिङ्गो गाविसभरी ४७ वटै पदमा विजयी भएर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यो बेला उर्लाबारी बाहेक शनिश्चरे र इन्द्रपुर गाविसका पनि सबै पदमा एमाले बिजयी भएको थियो ।
मोरङका कूल ६५ गाविसमध्ये ४६ गाविसमा अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्यमा जित हात पारेको एमालेले विराटनगर उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पद समेत आफ्नै दलको पोल्टामा पारेको थियो ।
के गर्दैछन् पूर्व प्रतिनिधि ?
दुई पटक मधुमल्ला गाविसका अध्यक्ष भएका काशीनाथ पौडेल यतिबेला राजनीतिमा निश्क्रिय हुनुहुन्छ । मधुमल्लाबाटै पलायन भएर उहाँ दमकमा घर गृहस्थी जीवन व्यतित गरिरहनुभएको छ । पूर्वी मोरङका बयरवन, उर्लाबारी, हसन्दह र केराबारीका गाविस अध्यक्ष क्रमशः काशीनाथ दाहाल, घनेन्द्र जिमी, माधव खतिवडा र नारायण थापा मगरको भने निधन भइसकेको छ । यस्तै इटहरा गाविसमा दुई कार्यकाल गाविस अध्यक्ष हुनुभएका रामकुमार राई एमाले पार्टी राजनीतिबाट निष्क्रिय भएर व्यापार व्यवसायमा लाग्नुभएको छ । दुई कार्यकाल नै गाविस अध्यक्ष हुनुभएका सिजुवाका गन्जबहादुर राई र राजघाटका चन्द्र थेवे एमालेको स्थानीय राजनीतिमा रहेपनि हाल नगरप्रमुखको दौडमा भने छैनन् तर पथरीका मोहन तुम्वापो (२०५४) र तिलक वान्तवा (२०४९), शनिश्चरेमा दुई कार्यकाल अध्यक्ष भएका मोहन न्यौपाने भने हालको पथरीशनिश्चरे नगरपालिकाको प्रमुखका लागि धाइरहनुभएको छ ।
यस्तै जाँतेमा दुई कार्यकाल अध्यक्ष जित्नुभएका उपेन्द्र घिमिरे लेटाङ नगरपालिकाको प्रमुख हुने दौडमा हुनुहुन्छ । लेटाङमा क्रमशः गाविस अध्यक्ष बन्नुभएका घनश्याम खतिवडा र चन्द्रप्रसाद गौतम भने नगर प्रमुखको दावेदार हुने दौडमा देखिनुभएको छैन । रमितेखोला, भोगटेनी, वारङ्गी, याङ्शिला, गाउँका पूर्व गाविस अध्यक्ष पनि यो बेला आ–आफ्नो गाउँपालिकाको नेतृत्व सम्हाल्ने होडमा देखिएका छैन । उता तत्कालीन इन्द्रपुर गाविसमा दुई कार्यकाल अध्यक्ष हुनुभएका चन्द्रबहादुर गुरुङ हाल मोरङ क्षेत्र नम्बर– ८ का निर्वाचित सांसद हुनुहुन्छ भने गुरुङको गृह क्षेत्र अन्तर्गत रहेको सुन्दरहरैचा नगरपालिकामा भने तत्कालीन दुलारी गाविसका अध्यक्ष अर्जुन अधिकारीले भने नगर प्रमुखको आंकाक्षी हुनुहुन्छ ।
तत्कालीन सुन्दरपुरका गाविस अध्यक्ष कृष्णप्रसाद दाहाल सामाजिक कार्यकर्ताका रुपमा मात्रै केन्द्रित हुनुहुन्छ भने हरैचाका गाविस अध्यक्ष विनोद बस्नेत एमालेको जिल्ला राजनीतिमा रहनुभएको छ । बेलबारीका गाविस अध्यक्ष शिव बराल, डाँगीहाटका गाविस अध्यक्ष पीपी थापा मगर, केरौनका भेषनाथ रिजाल, बयरवनकै पूर्व गाविसका अध्यक्ष ताराबहादुर काफ्लेलगायत पनि उम्मेद्वार हुने दौडमा देखिनुभएको छैन ।


