थिरमाया खड्काको उमेर ‘१६४ बर्ष’ रहेको खुलासा भए पछि…

‘एक सय ६४’ वर्ष उमेरको मानिस सुन्दा जोकोही अचम्म मान्छन् । खास उमेर प्रस्ट्याउने माध्यम नेपाली नागरिकताको प्रमाणपत्र हो । त्यही प्रमाणपत्रमा उल्लेख भएपछि पत्याउनैपर्‍यो । लिखु गाउँपालिका ९, पोकलीकी थिरमाया खड्का यही प्रमाणको आधारमा १ सय ६४ वर्षकी भइन् ।

उनको नागरिकताअनुसार विसं १९१० सालमा जन्मिएकी हुन् । ५६६४/१५ नम्बर कायम भएको नागरिकतामा उनी जन्मिएको महिना र गते भने उल्लेख गरिएको छैन । साविक पोकली २ की उनको नागरिकता र स्वयं व्यक्तिलाई देखेर सबै अचम्म मान्छन् । उनी अझै घाँसपात, मेला, गोठालो गर्न सक्छिन् ।

खासमा उनले वितरण टोली गाउँ आएको बेला २०४९ मा नागरिकताको प्रमाणपत्र बनाएकी थिएन । टोली प्रमुख हिमलाल सुवेदीले हस्ताक्षर गरेर उनलाई नागरिकता दिएका थिए । त्यतिखेर कसैले वास्ता नगर्दा उनको वास्तविक जन्ममिति छुटेको हो ।

‘नागरिकता बनाउने बेला मैले के भनेँ । उनीहरूले के टिपे, थाहा भएन ।’ थिरमायाले भनिन्, ‘पछि टोली फर्किसकेपछि अरूले हेरेर थाहा पाए । त्यतिखेर ढिला भइसकेको थियो ।’ निरक्षर थिरमायाको वास्तविक उमेर उनलाई नै थाहा छैन । नैनबहादुरकी छोरी भएर नागरिकता लिएको उनका श्रीमान् बितेकै ३० वर्ष भइसक्यो । अनुमानमा उनी ८० वर्षकी भइन् ।

छोराछोरीसँग छुट्टिएर बसेकी उनको घर भूकम्पले भत्काएको छ । टहरामै जीविकोपार्जन चलाउँदै आएकी छन् । नागरिकता सच्याउनका लागि आधार प्रमाणित हुने कागजात चाहिन्छ ।

जन्मदर्ता, एसएलसीको प्रमाणपत्रलगायत प्रमाणित हुने कागजातका आधारमा मात्र नाम, जन्ममितिजस्ता तुटिहरू सच्याउन सकिने सहायक प्रजिअ तिलोचन रिमालले बताए । थिरमायालाई भने उमेर सच्याएर खासै कुनै अर्थ नरहने भएपछि केही चिन्ता छैन । अझ उनलाई वृद्ध भत्ता लिनका लागि बेलैमा सजिलो भयो । ०५४ सालमा नागरिकता पेस गरेपछि निरन्तर भत्ता लिँदै आएकी छन् ।

लिखु गाउँपालिका १ का वडा सचिव पशुपति सुनुवारले थिरमायाको नागरिकताले स्पष्ट रूपमा उमेर खुलेपछि नियमित दिइने गरेको बताए ।

– कन्तिपुरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।