सबैतिरबाट एक्लिदै प्रधानमन्त्री दाहाल ! : लोकतन्त्र र शक्ति पृथकिकरणको मान्यताको खिल्ली उडाएको भन्दै चिन्ता व्यक्त
काठमाडौं, प्रबुद्ध समूहले सर्वोच्च अदालतमाथिको हस्तक्षेपले लोकतन्त्र र शक्ति पृथकिकरणको मान्यताको खिल्ली उडाएको भन्दै चिन्ता व्यक्त गरेको छ।
प्रधानन्यायधीश सुशीला कार्कीमाथि सत्तारुढ दलले संसदमा महाभियोग दर्ता गरेपछि प्रबुद्ध समूहको सोमबार सम्पन्न एक भेलाले यस्तो निष्कर्ष निकालेको हो।

सेनाका पूर्व अधिकारी, पूर्व सचिव, राजनीतिकर्मी, कानुन विद्, पत्रकार, अधिकारकर्मीलगायत ३७ जनाको समूहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता जनाएको हो।
समूहका तर्फबाट पूर्व सचिव द्वारिकानाथ ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सर्वोच्च अदालत लगायतका स्वतन्त्र निकायहरूमाथि भएका हस्तक्षेपले लोकतन्त्र र शक्ति पृथकीकरणको मान्यताको खिल्ली उडाएको छ। ’ समूहले एकै चरणमा स्थानीय तहको चुनाव गर्न पनि सरकारलाई सुझाएको छ।
संविधानसभाद्वारा निर्मित संविधान कार्यान्वयन हुन नसकी थप संवैधानिक संकट उत्पन्न हुने परिस्थिति निर्माण हुने हुनाले समयमै स्थानीय तहको निर्वाचन एकैचरणमा सम्पन्न गर्नु आवश्यक रहेको समूहको निष्कर्ष छ। ‘अन्यथा देश थप अन्योल र संकटको भूमरीमा फस्ने निश्चित देखिएको छ’ समूहले भनेको छ।
संविधान कार्यान्वयनको सिलसिलामा संकटको कालो बादल मडारिने स्थिति पैदा भएको तथा बहुराष्ट्रिय राज्यको गलत र खतरनाक मान्यता स्थापित गर्ने षडयन्त्र चलिरहेकाले त्यसतर्फ सबै देशवासी सचेत भएर राष्ट्रको रक्षामा एकजुट हुनु समूहले आह्वान गरेको छ।
‘राजनीतिक क्षेत्र, नागरिक समाज र अन्य आवरणमा राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र सामाजिक सद्भावमाथि खलल पु¥याउने गरी छदम्भेषी शैलीमा गतिविधि गर्ने राष्ट्रघातीलाई चिनेर नाङ्गेझार बनाउनेतर्फ पनि हामी उद्यत छौं’ समूहको विज्ञप्तिमा भनिएको छ।
संवैधानीक, राजनीतिक लगायत देशमा सृजना गरिएको संकटमाथि गम्भीर ध्यानाकर्षण भएको समूहले जनाएको छ।
‘राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका निम्ति सम्पूर्ण राष्ट्रप्रेमीलाई एकजुट हुन समेत आग्रह गर्दछौं। यस दिशामा आगामी दिनहरूमा हामी निरन्तर खबरदारीमा लागिरहनेछौं। अन्य तह र तप्कालाई पनि यस किसिमको खबरदारीमा लागिरहने अपिल गर्दर्छौँ’ विज्ञप्तिमा भनिएको छ।

– जुमएनपीबाट


