नवगठित राजपा दिनभर संयुक्त बैठकमा व्यस्त, संविधान संशोधन नभए पनि निर्वाचनमा सहभागी हुनसक्ने
नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एकजना अध्यक्षले दोश्रो चरणको चुनावअघि संविधान संशोधन नभए पनि उक्त निर्वाचनमा सहभागी हुनसक्ने बताएका छन्। उक्त दलका एकजना अध्यक्ष अनिल झाले बीबीसीसँग कुरा गर्दै त्यो सम्भावना औंल्याएका हुन्।

उम्मेद्वारी दर्ता गर्ने दिनभर जसो मोर्चा सम्बद्ध राजपा नेपाल एकतापछिको पहिलो संयुक्त बैठकमा व्यस्त रह्यो
तर अहिलेसम्म संशोधनपछि मात्र चुनावमा जाने आफूहरुको अडान रहेको उनको भनाइ छ। संशोधन नभएसम्म चुनावमा नजाने अडान देखाएको मधेशी मोर्चाको एउटा दल संघीय समाजवादी फोरम नेपालले बैशाख ३१ गतेको चुनावमा उम्मेद्वारी दिएको छ। तर उम्मेद्वारी दर्ता गर्ने दिनभर जसो मोर्चा सम्बद्ध राजपा नेपाल एकतापछिको पहिलो संयुक्त बैठकमा व्यस्त रह्यो।
संशोधन प्रयास
फोरम नेपालको उम्मेद्वारी दर्तालाई कतिपयले संविधान संशोधन विधेयक पछाडि धकेलियो वा विफल भयो भने पनि मोर्चा दोश्रो चुनावमा सहभागी हुने संकेतको रुपमा अर्थ्याएका छन्।
उक्त सम्भावनाबारे राजपा नेपालका एकजना अध्यक्ष अनिल झाले भने, “संशोधन नहुँदै चुनावमा जाने कुरा पनि हुनसक्छ, त्यो अवस्था जुन दिन आउला फेरि सल्लाह गरौला। अहिलेसम्म संशोधन पारित भएपछि मात्रै भाग लिनुपर्छ भन्ने नै छ।”
आइतबार संविधान संशोधन विधेयकको छिनोफानो गर्ने भनिएको थियो। तर बिहीबार संसद् बैठकमा त्यसलाई निर्णयार्थ पेश गर्ने सरकारले जनाएको छ।
संशोधन पारित गराउन आश्यक दुई तिहाई पुर्याउन केही संख्या कम भएकाले सरकारले आफ्नो पूर्वयोजना पछाडि सारेको बताइएको र अहिले पनि संशोधन पारित हुने अझैँ निश्चित छैन।
संशोधन नहुँदै चुनावमा जाने कुरा पनि हुनसक्छ, त्यो अवस्था जुन दिन आउला फेरि सल्लाह गरौला। अहिलेसम्म संशोधन पारित भएपछि मात्रै भाग लिनुपर्छ भन्ने नै छ
अनिल झा, राजपा नेपालका एक अध्यक्ष
सम्भावना
अध्यक्ष अनिल झा संशोधन पारित गराउने पर्याप्त समय खाँचो पर्ने सम्भावनालाई ख्याल गरेरै दोश्रो चरणको चुनाव गराउने सहमति गरिएको बताउँछन्।
उनी भन्छन्, “कुनै कारणले तोकिएको समयमै संशोधन पारित भएन भने केही समय लगाएर पारित गर्ने भनेर दुई चरणमा चुनाव गर्ने सहमति भएको हो। हामी पहिलो चरणमा उम्मेद्वारी नदिने कारण पनि त्यही हो।”
राजपा नेपालका अर्का अध्यक्ष महेन्द्र यादव पनि विधेयक पारित गर्ने समय र सम्भावना पर्याप्त बाँकी रहेको बताउँछन्। तर आफूहरुले जनता समक्ष संशोधनपछि मात्र चुनावमा जाने भनिसकेकाले संशोधन अघि चुनावमा सहभागी हुन आफूहरुलाई अप्ठेरो रहेको उनको भनाई थियो।
राजपा नेपालको बैठकमा चुनावमा सहभागी हुने फोरम नेपालको कदमको कतिपय नेताले आलोचना गरेको बताइएको छ।


