परिवारवाद हाबी भएको भन्दै माओवादी केन्द्र भित्रै अन्तरविरोध, आफन्तबाहेक आरुलाई आफ्नो नदेख्ने आँखा भएको दृस्टीहीन हो
काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन महानगरपालिकाको मेयरमा आफ्नै छोरी रेणुलाई उम्मेदवार बनाएपछि पार्टीभित्रै अन्तरविरोध शुरु भएको छ ।
अगुवा नेता-कार्यकर्ताहरुले नै रेणुलाई कुनैपनि हालतमा सहयोग नगर्ने सार्वजनिक घोषणा गरेका छन् । स्थानीय तहमा पार्टीका लागि दिनरात खटिने कार्यकर्तालाई वेवास्था गरिएको उनीहरुको गुनासो छ । पार्टीभित्र परिवारवाद हाबी भएको भन्दै उनीहरुले सामाजिक संजालमा आक्रोश पोखेका छन् ।

रेणु प्रधानमन्त्री प्रचण्डकी माइली छोरी हुन । पहिलो संविधानसभामा उनी समानुपातिकतर्फबाट सभासद् थिईन । दोस्रो संविधानसभामा काठमाडौं–१ बाट उम्मेदवार बनेकी उनी नराम्ररी पराजित भएकी थिईन् । चितवनका कार्यकर्ताको भावनाविपरित अहिले उनलाई चितवनमा मेयरको उम्मेदवार बनाइएको छ । प्रचण्डपुत्री भएकै कारण रेणुलाई पार्टीले पटक पटक अवसर दिने गरेको कार्यकर्ताहरुको गुनासो छ ।

चितवनबाट मेयरका लागि नारायण दाहाल, पार्टी अध्यक्ष यमबहादुर परियार, प्रचण्डका बहिनी ज्वाई खेम भण्डारी, पुराना कार्यकर्ता तथा चितवन उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मित्रराज दवाडीको नाम चर्चामा थियो । उनीहरुले त्यसका लागि केन्द्रमा नेताहरुसँग लबिङ पनि गरिरहेका थिए ।
तर, सबैलाई पाखा लगाएर प्रचण्डकै निर्देशनमा पुत्री रेणुलाई उम्मेदवार बनाउने निर्णय भएको छ । नारायण दाहाल प्रधानमन्त्री प्रचण्डकै भाई हुन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा चितवनबाट उम्मेदवार बनेका थिए ।
रेणुको उम्मेदवारीपछि माओवादीकै स्थानीयदेखि केन्द्रीय नेतासम्मले विरोध जनाउन थालेका छन् । स्रोतका अनुसार केन्द्रीय सदस्य सुरेशचन्द्र अधिकारीले कार्यकर्तामाझ पार्टीभित्र परिवारवाद हाबी भन्दै असन्तुष्टी जनाउने गरेका छन् । ‘के गर्नु यो पार्टीमा इमान्दार भएर काम गर्नेको मुल्यांकन नै हुदैन । नेताका छोराछोरीले मात्रै अवसर पाउने भए, पार्टीभित्र अवसरवाद हाबी भयो’, एक माओवादी कार्यर्ताका अनुसार उनले कार्यकर्ताहरुमाझ भन्ने गरेका छन् ।
चण्डको विश्वासपात्रका रुपमा चिनिएका प्रेम रिमालले त सामाजिक संजालमै विरोध जनाएका छन् । ‘यदि चितवनमै बसेर यहाँका जनताका बीचमा काम गरिरहेका मान्छेहरुबाट उम्मेदवार बनाउन नसकी सधैं काठमाडौंमा बस्ने मान्छेलाई टिकटदिन्छ पार्टीले भने त्यो पार्टीको भविष्य छैन् भन्ने बुझ्दा हुन्छ ।
छोराछोरी, भाईभतिजा र नातागोताबाहेकलाई आफ्नो नदेख्ने आँखा भएको नेतृत्व अन्ततः दृष्टिविहिन नै हो’, रिमालले फेसबुकमा लेखेका छन् । रिमाल माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा चितवनस्थित विपी कोइराला मेमेरियल क्यान्सर अस्पताल संचालक समितिको सदस्य भएका थिए । उनी प्रचण्डको विश्वासपात्रको रुपमा कार्यकर्तामझ चिनिन्छन् ।
प्रचण्डले गर्ने निर्णयमा पत्नी सिता र पुत्री रेणुको प्रभाव रहने गरेको माओवादी कार्यकर्ताहरु नै बताउँछन् । दुई बर्षअघिको भुकम्पका बेला भारतबाट गोरखाका पीडितहरुका लागि आएको राहत रेणुले पिताकै आडमा कब्जामा लिएकी थिईन ।
केयर इण्डियाले गोरखाका पीडितहरुका लागि दाँत माझ्ने मन्जनदेखि अन्य दैनिक आवश्यक सामग्रीका दुई सय ५० प्याकेट केयर नेपालमार्फत पठाएको थियो । तर, सप्तरीको भारदहबाट रेणुले ति प्याकेट कब्जामा ल्याएर काठमाडौं पु¥याएकी थिईन । त्यसको विरोधमा पीडितहरु काठमाडौं नै आइपुगेका थिए ।


