सिमकोट स्थित छात्रावासका ७० विद्यार्थी ९ महिनादेखि आधा पेट खाना खाएर विवसतापुर्वक बाँच्दै

सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ। गत वर्ष दैनिक कम्तीमा ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले यो वर्ष भने मंसिरदेखि पूरा पेट खाना पाएकी छैनन्।

जिल्ला सदरमुकाम सिमकोटको बीच बजारमा २०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावासमा बसेकी स्वस्तिकाले मंसिरयता मात्रै पटकपटक गरेर ९ दिन भोकै विद्यालय जानुपरेको छ।

महिला फिडर छात्रावासका छात्रा वार्डेन कमला लामासँग छलफल गर्दै ।

सदरमुकाम सिमकोटको मानसरोवर उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चंखेल्नी गाउँपालिका मेखालाकी ११ वर्षीया ज्ञानुमाया ऐडीले आधा पेट खान थालेको पनि महिना दिन बितेको छ।

गत चैतमा आमाबुबा र घरपरिवार छाडेर गुणस्तरीय शिक्षा प्राप्तिको अभिलाषासहित सिमकोटको दुर्गम हिमाली आवासीय छात्रावास आएकी ऐडीलाई अहिले दिनको सातपटक घरमा खाएको खानाको सम्झनाले निकै सताएको छ।

छात्रावासलाई सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत दिने छात्रवृत्ति रकम गत साउनदेखि नै नदिएको भन्दै छात्रावास प्रशासनले चामल र अन्य खाद्यान्न जोहो गर्न नसक्दा छात्रावासमा भर्ना भएको महिना दिनमै उनी ७ दिन भोकै विद्यालय गइन्।

स्वस्तिका र ज्ञानुमाया हुम्ला सदरमुकाम सिमकोटमा सरकारले व्यवस्थापन गरेका दुर्गम हिमाली आवासीय छात्रावास र महिला फिडर छात्रावासका ७० छात्रछात्राका नमुना पात्र मात्रै हुन्।

सरकारले शिक्षा मन्त्रालय हुँदै जिल्ला शिक्षा कार्यालय हुम्लामार्फत सम्बन्धित छात्रावासलाई प्रतिमहिना प्रतिविद्यार्थी आवास र खानाबापत दिँदै आएको ४ हजार रुपैयाँ गत साउन महिनादेखि नदिएपछि अहिले दुवै छात्रावासमा आ श्रय लिएर बसेका सबै विद्यार्थीको दैनिकी निकै कष्टपूर्ण बन्दै गएको छ।

सरकारले नियमित रूपमा रकम प्रदान गर्दाका बेलामा समेत पर्याप्त सुविधा प्राप्त नहुने उक्त छात्रावासमा नौ महिनासम्म कत्ति पनि रकम सहयोग नआएपछि आफूले बिहान सुकाएको फर्सी र गान्टेमुलाको झोल खाएर विद्यालय जानुपरेको महिला फिडर छात्रावासमा कक्षा १० मा अध्ययनरत सिर्जना बुढाथोकीले बताइन्।

मंसिरयता मात्रै पटकपटक गरेर ११ दिन भोकै विद्यालय गएको जनाउँदै सिर्जनाले अन्नपूर्णसँग भनिन्, ‘सुरुमा जिल्ला शिक्षा कार्यालयबाट पैसा आउँछ र तिरौंला भनेर बजारका अधिकांश पसलबाट उधारोमा रासन ल्याएर पकाउने गरिएको थियो तर माघदेखि बजारका सबै पसलले उधारो दिन नमानेपछि भोकै विद्यालय जाने गरेका हौं।’

मंसिर महिनाअघि १६ जनालाई ७ फोक्टिन चामल पकाउने गरिएको बताउँदै सिर्जनाले अहिले एक र आधा फोक्टिन चामलमा सुकाएको फर्सी र गान्टेमुला मिसाएर पकाउन थालिएको सुनाइन्।

बिहान एक र आधा फोक्टिन चामलको भात खाएर विद्यालय जाने महिला फिडर छात्रावासका १६ जना छात्राले बेलुका तातोपानीमा पिठो पकाएर छाक टार्ने गरेको कक्षा ९ मा अध्ययनरत लालीकी १४ वर्षीया सुमित्रा शाहीले बताइन्।

महिला फिडर छात्रावासमा मात्रै होइन, सिमकोटकै दुर्गम हिमाली छात्रावासको समस्या पनि उस्तै छ। २५ छात्र र २५ छात्रा गरी ५० जनाले आ श्रय लिएर बसेको उक्त छात्रावासमा पनि साउनदेखि रकम नआएपछि विद्यार्थी भोकभोकै विद्यालय जाने गरेका छन्।

मध्याह्न १२ बजेतिर शिक्षकले पढाइरहेको बेला भोकले निक्कै पेट दुख्ने गरेको जनाउँदै रामचन्द्र बुढाले भने, ‘यस्तोमा पढाइमा पटक्कै ध्यान जाँदैन।’ वैशाख महिनामा मात्रै चार दिन भोकै बसेको जनाउँदै बुढाले भने, ‘राति धेरै भोक लागेपछि पानी तताएर पिउने गरेका छौं।’

सुरुसुरुमा धेरै भोक लागेपछि घरबाट ल्याएको नास्ता खाने गरेको जनाउँदै कक्षा १० मा अध्ययनरत कमला काफ्लेले भनिन्, ‘भोक लाग्दा जे उपलब्ध हुन्छ त्यही खाइदिँदा पखाला चल्छ।’
सरकारी अनुदान नआएपछि आफूसँग भएको पैसा सकिएर बजारमा समेत उधारो माग्ने ठाउँ नभएकाले भोकै बस्नुपर्ने बाध्यता आएको दुर्गम हिमाली छात्रावासका वार्डेन राजबहादुर बुढाले बताउनुभयो।

रकम निकासाका लागि जिल्ला शिक्षा कार्यालय हुम्लासँग भदौयता झन्डै १ सय ५० पटक गुहार गरेको बताउँदै बुढाले केही सीप नलागेपछि सबै विद्यार्थीलाई घर पठाउने योजना बनाइएको जजानकारी दिनुभयो।

जिल्ला प्रशासन, राजनीतिक दलदेखि केही दिनअघि जिल्ला आएका खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीलाई समेत समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिसकेको महिला फिडर छात्रावासकी वार्डेन कमला लामाले बताउनुभयो। वार्डेन कमलाका अनुसार सिमकोटका पसलमा १ देखि ३ लाखका दरले ९ लाख रकम उधारो तिर्न बाँकी छ।

अर्थले बजेट नदिँदा समस्या
छात्रावासलाई दिइने नियमित अनुदान रकम अर्थ मन्त्रालयले निकासा नदिँदा समस्या बल्झिएको जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले बताउनुभयो।

शिक्षा कार्यालयले चालू आर्थिक वर्षको सुरुमै दुवै छात्रावासको रकम कार्यक्रममा छुटाएको स्वीकार गर्दै शिक्षा अधिकारी थापा अहिलेसम्म छुट कार्यक्रममा ३ पटक लेखी पठाए पनि बजेट नआउँदा विद्यार्थी भोकै बस्नुपरेको बताउनुहुन्छ।

पछिल्लो समय हरेक दिन शिक्षा विभागसँग टेलिफोनबाट फलोअप गरेको बताउँदै थापाले भन्नुभयो, ‘विभागले भोलि हुन्छ भनेको दुई महिना भयो तर अहिलेसम्म काम भएको छैन।’

अर्थ मन्त्रालयबाट रकमान्तर गरेर नआएकाले समस्या भएको शिक्षा विभागले जनाएको छ। छात्रावासमा आ श्रय लिएका ७० जना छात्रछात्राको बिहानबेलुकाको छाक टार्ने विषयमा आफू निकै संवेदनशील भएर लागेको शिक्षा अधिकारी थापाको जिकिर छ। – अन्नपूर्णपोस्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।