माथिल्लो डोल्पामा ८९ निर्विरोध, अधिकांश एमाले उम्मेदवार !
डोल्पा, वैशाख २१ । माथिल्लो डोल्पाका ३ गाउँपालिकामा पदाधिकारी तथा सदस्य गरी ८९ जना निर्विरोध निर्वाचित भएका छन् । तीमध्ये अधिकांश एमाले उम्मेदवार छन् । कान्तिपुरमा समाचार छ- शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकामा पदाधिकारी तथा सदस्य निर्विरोध भएका हुन् ।
शे–फोक्सुन्डोमा उपाध्यक्षबाहेक सबै पदमा एमाले उम्मेदवार निर्विरोध भए । अध्यक्षमा एमालेका तसी तुन्डुप गुरुङको मात्र मनोनयन दर्ता भएको थियो । यस्तै, ९ वडाको वडाध्यक्ष र सदस्यमा पनि एमाले उम्मेदवारहरूको मात्र उम्मेदवारी परेको थियो । उपाध्यक्षमा एमालेका छोल्डिम पाल्मु लामा र स्वतन्त्र उम्मेदवार दाबा लामासहित ३ जनाले मनोनयन दर्ता गरेका छन् । काइके गाउँपालिका ५ को वडाध्यक्षमा राजु रोकाया निर्विरोध भए । १ को वडाध्यक्ष र वडा सदस्यहरू पनि निर्विरोध भएका छन् । २ वडामा मात्र दलित समुदायको बसोबास रहेकाले ७ वडामा दलित सदस्य खाली भएका छन् ।
डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष र वडा १ बाहेक उपाध्यक्षलगायत ५ वडाका सबै पदमा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । अध्यक्षमा एमालेविरुद्ध बागी उम्मेदवारी परेको हो ।
मुख्य निर्वाचन कार्यालयका अनुसार डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा दलित नभएकाले ती १२ वडा सदस्य खाली राखिएको छ । दुनैको ठूलीभेरी नगरपालिका १० को वडाध्यक्ष, १ खुला सदस्य र दलित महिला सदस्यमा स्वतन्त्रमा मात्र उम्मेदवारी परेको छ ।
डोल्पामा २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहमा ६५ वडा छन् । अहिलेसम्म १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, २२ वडाध्यक्ष, २० महिला सदस्य, ३ दलित महिला सदस्य र ४२ खुला सदस्य गरी ८९ जना निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ ।


