चुनाव प्रचारका लागि स्कुल बन्द गरेर कांग्रेसले लग्यो स्कुलको बस
धादिङ, स्थानीय निर्वाचनको प्रचारका लागि सत्तारूढ दल नेपाली कांग्रेसले स्कुल बन्द नै गराएको छ । स्कुल बन्द गराएपछि कांग्रेसले धादिङका केही स्कुलको बस नै पार्टीको झन्डा राखेर चुनाव प्रचारमा लगेको छ।

उम्मेद्वारी दर्ता तथा चुनाव प्रचारका लागि पनि कांग्रेसले त्रिपुरासुन्दरी गाउँपालिकास्थित बालबिकास इङ्लिस बोर्डिङ र सिद्धलेख गाउँपालिकास्थित शान्ति बोर्डिङ बन्द गराएर बस पनि लगेको हो । त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकाको उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालयमा जाँदा तथा प्रचारमा पनि स्कुल बसको प्रयोग गरिएपछि स्थानीयस्तरमा त्यसको विरोध भएको छ।
स्कुल बसमा पार्टीको झण्डा राखेर बसको छतमा चढेका कांग्रेसका कार्यकर्ताले नारा लगाउँदै गाउँ परिक्रमा गरेका थिए । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला भने यसबारेमा आफूलाई जानकारी नभएको जबाफ सञ्चारमाध्यमलार्इ दिएका छन् । धमलाले यसबारे जानकारी नभएको बताए पनि कांग्रेस कार्यकर्ताहरूले स्कुल बसको दुरूपयोग अझै रोकेका छैनन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा विद्यालय तथा विद्यालयको सवारी साधनमा पार्टीको झण्डा राख्न तथा चुनावी प्रचार गर्न पाइँदैन। कांग्रेसले भने विद्यालय नै बन्द गरेर चुनाव प्रचार कार्यक्रम गर्न भ्याएको छ । पढार्इ भइरहेका विद्यालय बन्द गरेर चुनावी कार्यक्रम गरेपछि स्थानीयले पनि असन्तुस्टि जनाएका छन् । – रातो सूर्य


