’नालायक अनुहार’
विशाल छेत्री । दानव भष्मासुर शिवभक्त थिए । शिवको आराधना गरिहन्थे । लामो समय कठोर तपस्यामा लीन भएपछि शिव प्रकट भई वरदान माग्न भने । भष्मासुरले आफूले जस्को शिरमा हात राख्यो त्यो भष्म होस् भने । शिवले तथास्तु भनी बरदान दिए । भष्मासुरले तपस्याको जाँच गर्न चाहे । भष्मासुरको मनमा पाप आयो । शिवमाथि नै वरदान प्रयोग गर्न खोजे । शिवको टाउकोमा हात राख्न खोजे । आफैले दिएको तपस्या घातक भएपछि शिव भाग्नु प¥यो । शिवलाई भष्मासुरले लखेट्न छाडेनन् । शिव विष्णुकोमा सहयोगका लागि पुगे । भष्मासुरको खतरा बुझेर तत्काल सुन्दर नारीको रुप धारण गरे । मोहिनी रुप धारण गरेर भष्मासुरका सामु देखिइन् । भष्मासुर मोहिनीको रुपबाट मोहित भए । विवाहको प्रस्ताव राखे । मोहिनी तत्काल तयार भएनन् । भष्मासुरले मोहिनी विवाहका लागि राजी भए उनका जुनसुकै इच्छा पूरा गर्न तयार भएको बताए । मोहिनीले आफू नृत्यको सौखिन भएको र आफ्नो पुरूष पनि आफूजस्तै तालमा ताल मिलाएर नृत्य गर्न सक्ने हुनुपर्ने बताइन् । भष्मासुर सँगै नृत्य गर्न तयार भए । मोहिनी जस्तो नृत्य गर्थिन् भष्मासुर त्यस्तै नृत्य गर्थे । मोहिनीले आफ्नै टाउकोमा हात राखेर नृत्य गर्न थालिन् । भष्मासुरले त्यस्तै नृत्य गरेकामात्र थिए आफै भष्म भए । महादेवले जे वरदान दिएका थिए त्यस बमोजिम टाउकोमा हात राख्दा भष्म हुने भन्ने थियो र भष्मासुर भष्म भए ।
नेपाली राजनीतिमा त्यस्तै भष्मासुरहरूको बोलवाला भएको छ । उनीहरू कुनै बाह्य शक्तिको इशारामा नग्न नृत्य गरिरहेका छन् । शक्ति संचयका लागि विदेशी शक्तिको हार गुहार गर्छन् अनि पछि तिनै शक्तिलाई समेत लोप्पा खुवाउने गरी क्रियाकलाप देखाउँछन् । तिनले नेपाली जनतालाई गन्ने कुरै भएन । नेपाली जनतालाई समेत लाज लाग्ने गरी नग्न नृत्य गरिरहँदा तिनले आफू कताबाट संचालित छु भन्ने समेत चाल पाउन छाडेजस्तो भएको छ । आफूलाई अजर अमर ठानिरहेका छन् । त्यो भ्रम टुट्ने र आफ्नै कारणले राजनीतिक भविष्य नै खतरामा पर्ने भइसकेको छ ।
भष्मासुर शैलीमा शेरबहादुर देउवाले प्राप्त शक्तिको दुरुपयोग गर्न थालेका छन् । आफ्नो नीहित स्वार्थपूर्तिका लागि कुनैबेला आफूसँग निकट सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरे । सुशीलाले गलत काम गर्न आनाकानी गर्दा देउवा पत्नी आरजु देउवाको इशारामा नाँच्न थाले । पैसा लिएर आइजीपी बढुवामा ठाडो हस्तक्षेप गर्न पुगे । उनले चाहेको व्यक्ति आइजीपी हुन पाएनन् । सर्वोच्च अदालतको परमादेशले आइजीपी बढुवा उल्टिएपछि प्रकाश अर्याललाई बनाए । अर्यालको विषयमा समेत नवराज सिलवाल अदालत गएको र देउवाको बालहठ नमानेपछि महाभियोग प्रस्ताव ल्याइयो । नवराज सिलवाललाई कीर्ते गरेको आरोप लगाउनेहरू नै एकपछि अर्को कीर्तेमा संलग्न देखिए । महाभियोगमा प्रयोग भएको हस्ताक्षर अन्य प्रायोजनका लागि प्रयोग भएको हस्ताक्षर भनी हस्ताक्षरकर्ताले सार्वजनिक रुपमै भनिसकेका छन् । नेपाली काँग्रेसकी प्रभावशाली नेता सुजाता कोइराला मात्र नभई निवर्तमान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हस्ताक्षरमा कीर्ते गरिएको बताए । देशको प्रधानमन्त्री भइसकेको व्यक्ति कतिसम्म गिरेर कीर्ते दस्तखत संकलनमा आफ्ना हनुमानहरूलाई कुदाएका रहेछन् भन्ने छर्लङ्ग भइसकेको छ ।
नेपाली काँग्रेसभित्र देउवा सबैभन्दा बदनाम सभापतिका रुपमा कालो धब्बा बनेका छन् । काँग्रेसको राजनीतिमा लाग्नुमा देउवाको सुरा र सुन्दरी मोह नै थियो । उनी देश र जनताको भविष्य बनाउनका लागि नभई मोजमज्जा गर्न राजनीतिमा लागेका थिए । त्यसैले उनमा न त कुनै भिजन छ न त कुनै गतिलो काम गर्ने क्षमता छ । देउवाले ‘गर्लफ्रेण्ड’ हरूलाई समानुपातिकमा सभासद् बनाएको भन्दै काँग्रेसकै महिलाहरूले सार्वजनिक रुपमा बोलेको इतिहास साक्षी छ । कहिले संसद् बिघटन गरी चुनाव रोक्ने र राजालाई प्रजातन्त्र सुम्पने गरे त कहिले माओवादी नेताहरूको टाउकाको मूल्य तोके । देउवाले पछिल्लो समय स्थानीय चुनाव टार्ने गरी जुन किसिमको हर्कत देखाएर स्वतन्त्र न्यायपालिकामाथि धावा बोले यो उनकै लागि घातकसिद्ध हुने देखिदैछ ।
देउवाको हठको सामु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निरिह सावित भए । देउवा जे भन्छन् त्यही गर्दै गए । विगतमा कटवाल प्रकरणले सत्ता छाड्न वाध्य प्रचण्ड अहिले सिलवाल प्रकरणले पिरोलिएका छन् । उनी सिलवाललाई आइजीपी बनाउने पक्षमा थिए । तर, सत्ताका लागि देउवाको मनपरी दबाब थेग्न सकेनन् । समयले उनलाई कटवाल प्रकरण बिर्साउने गरी सिलवाल प्रकरणमा लगेर भाँसिदियो । प्रचण्ड सत्तामा रहेपनि बाहिरिएपनि असजिलोमा परेका छन् । उनी बाघको सवार भएका छन् । सेफ ल्याण्डिङ खोज्नुपर्ने अवस्था बनेको छ । प्रचण्डको विगत पनि रोचक छ । उनी देश र जनताको हितमा भन्दा पनि मोजमज्जाका लागि राजनीतिमा लागेका हुन् । उनीसँग लामो समय बिताएकाहरूले प्रचण्डको विलासी जीवनबारे खुलासा गरिसकेका छन् । उनको लाजिम्पाटस्थित ‘दरबार’ को विलासी जीवन निकै आलोचित बन्यो । कहिले भारतसित सुरुङयुद्ध त कहिल भारतभक्त बनेर रुप फेरिरहने उनी जातीय र साम्प्रादायिक घृणा फैलाउने कारक समेत बने । प्रचण्डले यति धेरै षड्यन्त्रको तानाबुना बुने कि अहिले त्यही षड्यन्त्र उनका लागि घातक बन्दै गएको छ । नेपाली जनताले दिएको मतको कदर नगरी जनतालाई आघात पर्ने निर्णयहरू गर्दा उनको राजनीतिक जीवननै संकटमा परेको थियो । लामो प्रयासपछि जेनतेन साख बनाउन मात्र के सकेका थिए प्रचण्ड पुनः भष्मासुर रुप धारण गर्न पुगेका छन् । विदेशीको मोहनी जालमा परेर आफू भष्म हुने गरी नृत्य गर्दैछन् ।
अब के हुन्छ ?
शेरबहादुर देउवा वीपीको विश्वास जितेर राजनीतिमा उदाएका थिए । उनी पञ्चायतकालमा काँग्रेस छाड्न खोज्दा कृष्णप्रसाद भट्टराईले जोगाएका थिए । राजनीतिमा बहकिने स्वभाव देउवामा बढी नै छ । भाग्यले उनलाई गृहमन्त्री हुँदै प्रधानमन्त्री पदसम्म बनायो । तर, १२ वर्ष बितिसक्दा पनि प्रधानमन्त्री बन्न नपाउँदाको वेचैनी छ । त्यसका लागि उनी जे सुकै गर्न तयार देखिए । राजनीतिक पद्धति र प्रणालीलाई खलबलाउने क्रियाकलाप गर्न थाले । देउवाको प्रधानमन्त्री बन्ने लालसाले देशलाई संकटमा धकेलेको छ । उनी प्रधानमन्त्री पदका लागि इमान जमान सबै भुल्न थालिसकेका छन् । तैपनि प्रधानमन्त्री पद देउवाका लागि चुनौती बनेको छ । सिलवाललाई आइजीपी बन्नबाट रोक्न सबै शक्ति खर्चिएका उनले नेपाली काँग्रेसको सैद्धान्तिक र नीतिगत मार्ग भुलिसकेका छन् । उनी फर्कनै नसक्ने गरी खाडलमा जाक्किइसकेका छन् । देउवाको लहलहैमा लागेर प्रधानमन्त्रीको कुर्सी जोगाउन प्रचण्ड आफै खाडलमा जाकिए । यसले यी दुई नेताको राजनीतिक भविष्यलाई संकटमा पारेको छ । दुवैमाथि द्वन्द्वकालीन मुद्या ब्यूँतन सक्छ । एउटामाथि टाउकाको मूल्य तोकेको र अर्कामाथि द्वन्द्वका बखत मानवअधिकारको गम्भीर उल्लंघन गरेको रेकर्ड छ । देउवा अकुत सम्पत्तिका मालिक भएका छन् । त्यसको खोजी निष्पक्ष रुपमा भएमा उनी संकटमा पर्न सक्छन् । प्रचण्डमाथि लडाकुको पैसा अनियमितता गरेको देखि अरबौं घोटाला प्रकरण छ । अनेकन कर्तुतहरूको भारीले थिचेका दुवैको राजनीति अब धरापमा परेको छ । भष्मासुर बन्दाको परिणती देखिदै जानेछ । – दृष्टीन्यूजबाट ।


