‘प्रचण्ड’ नेतृत्वको सरकार गुण्डागर्दीमा उत्रिएको नयाँ शक्तिका बावुरामको आरोप

गोरखा, बैशाख २६ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गुण्डागर्दीमा उत्रिएको आरोप लगाउनु भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ।

चुनावी घरदैलो कार्यक्रममा सहभागी हुन चार दिनदेखि गृहजिल्ला गोरखामा रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी केन्द्रका कार्यकर्ताले नयाँ शक्तिका कार्यकर्तालाई ठाउँ–ठाउँमा गुण्डागर्दी ढङ्गले आक्रमण गरेको आरोप लगाउनु भयो। विधिको शासन स्थापित गराउन निष्पक्ष काम गरिरहेका सशस्त्र प्रहरीका डिएसपीलाई प्रधानमन्त्री प्रचण्डले ठाडो आदेशमा सरुवा गरेको उहाँको आरोप छ।

‘सरकार र सरकारमा रहेको दल नै गुण्डागर्दीमा उत्रिनु अत्यन्त गम्भीर घटना हो,’मंगलबार पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले भन्नुभयो ,‘अझै गम्भीर त के देखा पर्‍याे भने विधिको शासन कायम गर्न निष्पक्ष ढङ्गले काम गरिरहेको यहाँको सुरक्षा निकाय र प्रशासनलाई प्रधानमन्त्री प्रचण्डले ठाडो आदेश दिएर दुरुत्साहित गरिरहेका छन्। सशस्त्र प्रहरीका डिएसपीको त उनकै ठाडो आदेशमा सरुवा गरियो। घटनाका दोषीलाई छुटाइयो। यो भनेको अत्यन्त गम्भीर विषय हो।’ प्रधानमन्त्री प्रचण्डका क्रियाकलापले निर्वाचनको निष्पक्षता र स्वतन्त्रताप्रति विश्वास गुमेको उहाँले बताउनुभयो।

गत शनिबार माओवादी केन्द्रका कार्यकर्ताले गोरखाको लक्ष्मीबजारमा नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेका थिए। कुटपिट र तोडफोडमा उत्रिएको आरोपमा पक्राउ परेका एक जनालाई माओवादीको दबाबमा सोमबार साँझ रिहा गरिएको थियो। त्यस्तै विभिन्न चार ठाउँमा आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको भट्टराईले बताउनुभयो।

भट्टराईले क्रान्तिकारी नेता प्रचण्ड प्रतिक्रान्तिकारी हर्कतमा लागेको आरोप लगाउनुभयो। ‘प्रचण्डले कसैको इशारामा राज्यका विभिन्न निकाय भताभुङ्ग पार्ने प्रयत्न गरिरहेका छन्,’ उहाँले भन्नुभयो,‘ पहिले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगको टाउँकै काटे। त्यसपछि प्रहरी, प्रशासन र राजदूत नियुक्तिमा पनि नाङ्गो हस्ताक्षेप गरे। प्रधानन्यायाधीशलाई छापामार शैलीमा महाअभियोग दर्ता गरेर हटाउने प्रयत्न गरियो। पछिल्लो चरणमा आएर गोरखाको घटनासम्मलाई हेर्दा प्रचण्डजी हिजोका क्रान्तिकारी नेता अहिले प्रतिक्रान्ति बन्दैछन्। कांग्रेस र एमालेलाई समेत उछिनेर उनी प्रतिक्रान्तिकारी हर्कतमा सबैभन्दा अगाडि देखिँदैछन् । यो अत्यन्त गम्भीर र खोजबिनको विषय मलाई लाग्छ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।