प्रमुख निर्वाचन आयुक्तद्वारा बाबुरामको माग ठाडै अस्वीकार, भने- कानुन तपाईहरु बनाउने, हामीलाई दोष नदिनुस्
काठमाडौं, २७ बैशाख । दुबै चरणको मतदान सकिएपछि मात्रै मतगणना गर्नुपर्ने नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईको माग प्रमुख निर्वाचन आयुक्तले ठाडै अस्वीकार गरेका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउन प्रमुख दलका शीर्ष नेताहरुलाई आयोगमा बोलाएको थियो ।
त्यस क्रममा दलहरुले आचार संहिता उल्लंघनका घटनाबारे ध्यानाकर्षण गराए ।
नयाँ शक्तिका संयोजक डा. भट्टराईले दुबै चरणको चुनावपछि मात्रै मतगणना गर्नुपर्ने बताए । उनले भारतमा पनि सात चरणको चुनाव हुने र सबै मतदान सकिएपछि मात्रै गणना हुने गरेको उदाहरण दिए ।
तर, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भट्टराईको माग ठाडै अस्वीकार गरे । उनले भने, ‘भारतको मात्रै उदाहरण दिँदै नहिँड्नुस् । ०५४ को चुनावमा तत्कालै मतगणना गरेर दोस्रो चरण भएको थियो ।’
यादवले अघि भने, ‘कानुन तपाईहरु बनाउने, अहिले आएर हामीलाई दोष नदिनुस् ।’
प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो चरणको मतदान लगत्तै मतगणना हुने र त्यसपछि दोस्रो चरणको मतदान हुने प्रष्ट संकेत गरे ।
– अनलाईनखबरबाट ।


