विप्लवका नाममा चुनाव भाँड्ने खेल, प्रचण्डले नै यसरी गर्दैछन् झेल !

काठमाडौं, २८ बैशाख । गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन विथोल्ने आशंका गर्दै धरपकड सुरु गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वमा रहेको सो पार्टीका प्रत्येक कार्यकर्तालाई पक्राउ गर्नुपर्ने सर्कुलर जारी गरेर मन्त्रालयले आइतबार प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा निर्वाचनको वातावरण सुरक्षित राख्न सम्वन्धित जिल्ला प्रशासन र प्रहरी अधिकृतहरुलाई निर्देशन दिएको हो ।

यसै बीच प्रहरीले चितवनको भरतपुर महानगरपालिका–४ शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थ सति पक्राउ गरेको छ । प्रहरीले मंगलबार सो पार्टीका सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य शंकर गुरुङलाई पक्राउ गरेको हो ।

सैन्य दस्ता सहकमाण्डर राई निर्वाचन विरोधी गतिविधिका लागि चितवन, धादिङ, नुवाकोट र रसुवाको कमाण्डर रहेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान नक्कली पेस्तोल, बम बनाउन प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रीनेट बम र केही विजुलीको तार समेत बरामद गरेको छ ।

यस्तै सानो परिणाममा फलामको टुक्रा, केही थान रसिद प्याड, चन्दा संकलनको चिठी लगायतका बन्दोबस्तीका सामाग्री पनि बरामद गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिएका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

विप्लवका केही कार्यकर्ताहरु बम राखेको, निर्वाचन भाँड्न सक्रिय रहेको आरोप सहित ठाउँठाउँबाट पक्राउ परेका छन् । निर्वाचन भाँड्न सक्रिय भएमा कारबाही गर्नु उचित हो । तर कतिपय कार्यकर्ताले पार्टीलाई समर्थन मात्र गरेको र कुनै विध्वंसात्मक काम नगरेको भन्दै निर्दोष व्यक्तिहरुलाई पार्टीको सदस्य भएकै कारण पक्राउ गर्नु उचित नहुने तर्क गरेका छन् ।

पार्टीका साधारण सदस्य शान्त अवस्थामा रहेका बेलामा पक्राउ गर्दा मनोवैज्ञानिक ढंगले विद्रोहको भावना बढ्न सक्ने तर्फ सचेत हुन जरुरी छ । हिंसात्मक गतिविधिमा लागेका जोसुकै भए पनि उनीहरुलाई पक्राउ गर्नु प्रहरी प्रशासनको दायित्व हो । तर कतिपय जिल्लामा पुष्पकमल दाहालकै कार्यकर्ताले विप्लवका कार्यकर्ता भन्दै चुनाव भाँड्न खोजेका समाचार पनि आएका छन् ।

निर्वाचनमा आफ्नो पार्टीले हार्ने अवस्था आएमा विप्लवका नाममा चुनाव भाँड्ने तयारी माओवादी केन्द्रकै एउटा समूह सक्रिय रहेको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चुनाव गराउने पक्षमा थिएनन् । उनी आफ्नो सरारले बजेट ल्याएपछि चुनाव गरेमा मत तान्न सकिने उनको विश्लेषण थियो ।

तर विपक्षी एमालेको चर्को दबाब र प्रमुख सत्ता साझेदार कांग्रेसाके दबाबका कारण साझेदार कांग्रेसको दबाबका कारण मात्र उनी निर्वाचनका लागि तयार भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । सशस्त्र युद्धबाट राजनीति गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि पनि युद्धको धङ्धङी कायमै रहेको देखिएको छ ।

मंगलबार दोलखामा माओवादी कार्यकर्ताले आक्रमण गर्दा एक एमालेका कार्यकर्ताको मृत्यु भएको छ । यस्ता घटना अरु नहोलान् भन्न सकिन्न । त्यसैले सुरक्षाको जिम्मेवारी बोकेका निकायले सहजता र चनाखो हुनुपर्ने देखिएको छ । यसैबीच निर्वाचन सुरक्षालाई ख्यालमा राखेर विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

प्रहरीले विभिन्न क्षेत्रबाट झण्डै ५० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये प्राय सबै राजनीतिक दबाबमा रिहा भएका छन् भने ८–१० जना हिरासतमै रहेको बताइएको छ । यसैबीच प्रहरीले मंगलबार गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेको छ । केही दिन अघि पक्राउ परेका अर्का नाइके दिपक मनाङ्गे पनि हिरासतमै छन् ।

प्रहरीले उनलाई सार्वजनिक अपराधको अभियोग लगाएर हिरासतमा राखेको छ । गुण्डागर्दी सम्बन्धी छुट्टै कानुन नभएकाले तोकिएको अवधि भन्दा बढी हिरासतमा राख्न कानुनी अड्चन भएको प्रहरीले जनाएको छ । प्रहरीले अन्य डनहरुलाई पनि खोजी गरिरहेको जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।