आज हरिशयनी एकादशी : भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वास (तुलसीको पूजा आराधना)

काठमाडौँ, २० असार । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँन्छ ।

जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलबाट आजै विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ । कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।

चतुर्मास समेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“यो चारमहिनासम्म व्रत बस्नेले निश्चित विधि पालना गर्नुपर्छ, जसअनुसार साउनमा साग, भदौमा दही, असोजमा दुध र कात्तिकमा दुई दल भएर उम्रने चीजबीज खानु नहुने कुरा ‘निर्णय सिन्धु’, ‘हेमाद्रि’ र ‘वीर मित्रोदय’ लगायत ग्रन्थमा उल्लेख गरिएको छ”–उहाँले भन्नुभयो ।

असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने गरिएको भनाइ पनि छ ।

वैज्ञानिक रुपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वेदिक औषधिका रुपमा समेत उपयोग गरिन्छ । वैदिक कालदेखि नै पीपल, कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकस्वरुप पवित्र मानिन्छ ।

वर्षमा २४ एकादशी पर्छन् । तीमध्ये आषाढ शुक्ल र कात्र्तिक शुक्ल एकादशीलाई ठूली एकादशीका रुपमा लिइन्छ । अरु २२ एकादशीका दिन व्रत बस्न नसक्नेले पनि यी दुई एकादशीमा व्रत बस्ने गर्छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।