सन्दर्भ : बिपी स्मृती दिवस, बिपीलाई राष्ट्रपति बन्ने प्रस्ताव राख्ने व्यक्ति को थियो ?

राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किँदै गर्दा बिपी कोइरालामाथि राजकाजसम्बन्धी आठवटा मुद्दा थिए। हवाइजहाज अपहरण गरेको, विराटनगरमा राजालाई बम हानेको, धरानमा बम पड्काएको, ओखलढुंगाको टिम्बुरबोटे काण्डलगायतका यी आठ राजकाज मुद्दा बोकेर उनी वि.सं. २०३३ साल पुष १६ गते नेपाल फर्किए। बिपीसँग एउटै विमानमा गणेशमान सिंह, रामबाबु प्रसाईं, खुमबहादुर खड्का, शैलजा आचार्य र निलाम्बर पन्थी पनि नेपाल फर्केका थिए।

विमानस्थलमा सो विमान अवतरण हुनासाथ बिपीलगायत ६ जनालाई गिरफ्तार गरेर सुन्दरीजल लगियो। सुन्दरीजल कारागारमा लगेर बिपीलाई १८—२० वटा प्रश्न सोधिएको थियो। इन्डियालाई हेर्ने तपाईंको दृष्टिकोण के हो? प्लेन हाइज्याकबाट प्राप्त गरेको ३० लाख के मा खर्च गर्नुभयो? लगायतका प्रश्न सोधिएका थिए। बिपीले सबै प्रश्नको निर्भयतापूर्वक उत्तर दिए। दरबारले बिपीलाई सोध्नका लागि आफैँ प्रश्न बनाएको थियो। ती प्रश्नहरु तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठलाई थमाइएको थियो। बिपीबारे अध्ययन गरेका अध्येता तथा पत्रकार जगत नेपाल भन्छन्, ‘बिपीले कति निर्भयतापूर्वक दरबारका प्रश्नहरुको उत्तर दिनुभएको थियो भने अञ्चलाधीशले विमान अपहरणबाट लिएको तीस लाख कहाँ लानुभयो भन्ने प्रश्नको उत्तरमा उहाँले जनताको पैसा जनताले नै खर्च गरे भनिदिनुभएको थियो।’

त्यसबेला राजा वीरेन्द्र पोखरामा थिए। बिपीलाई सोधिएका प्रश्नहरु वीरेन्द्रलाई पोखरामै पठाइएको थियो।

सुन्दरीजलमा थुनेको चारमहिनापछि उनीहरुको सुनुवाइ सुरु भयो। जनकमान श्रेष्ठको अध्यक्षतामा बनाइएको विशेष अदालतमा उनीहरुको मुद्दा चल्यो। सुनुवाइका क्रममा बिपीले आठवटै मुद्दाको नैतिक जिम्मेवारी लिए। अदालतले बिपीलाई निर्दोष सावित गर्‍यो। बिपीलाई थुनामुक्त गरेर उपचारका लागि अमेरिका पठाइयो।

उपचारपछि अमेरिकाबाट नेपाल फर्किने क्रममा भारतको पटना विमानस्थलमा जयप्रकाश नारायण र कपुरी ठाकुरलगायतका नेताले उनलाई भेटे। उनीहरुले ‘प्रधानमन्त्री बन्ने प्रस्ताव राखेको बताउँछन् पत्रकार नेपाल। ‘जयप्रकाश नारायण, कपुरी ठाकुरहरुले पटना विमानस्थलमा बिपी तिमी नेपाल नजाऊ, हामी तिमीलाई प्रधानमन्त्री बनाइदिन्छौँ भनेका थिए’, उनले भने, ‘तर बिपीले तिमीले बनाएको प्रधानमन्त्री तिम्रो हुन्छ, हाम्रो हुँदैन भन्ने प्रत्युत्तर दिनुभएको थियो।’

फेरि उनीहरुले हामी बहुदल घोषणा गरिदिन्छौं तर नेपाल नजाऊ भन्ने प्रस्ताव राखे। बिपीले उसैगरी ‘नेपालमा ग्राजुअल्ली ग्रोथ हुनुपर्छ डेमोक्रेसी, तिमीले घोषणा गरिदिएको बहुदल पनि तिम्रै हुन्छ, प्रजातन्त्र नेपाली जनता आफैँले स्थापित गर्नुपर्छ’ भन्ने जवाफ फर्काए। भारतीय नेताहरुको आग्रह अटेर गरेर बिपी नेपाल आए। र उनलाई पुनः थुनियो।

जेलबाट छुटिसकेपछि एकदिन कोइरालानिवास जयबागेश्वरीमा एकजना मान्छे उनलाई भेट्न आयो। उसले भन्यो, ‘बिपीबाबु तपाईं निर्णय गर्नुस्, हामी राजसंस्था फालिदिन्छौँ, तपाईं नेपालको पहिलो राष्ट्रपति हुनुपर्‍यो।’ त्यसपछि बिपीले ती व्यक्तिसँग ४८ घण्टाको समय माग गरे। बिपीले ‘यत्रो ठूलो निर्णय गर्न पार्टीमा सल्लाह गर्नुपर्छ, मलाई ४८ घण्टाको समय चाहिन्छ’ भने। बिपीलाई त्यस मान्छेले राखेको प्रस्ताव एक जना कांग्रेस कार्यकर्ताले पनि सुनिरहेका थिए। ती कार्यकर्ताले त्यो मानिस हिँडिसकेपछि बिपीलाई सोधे, ‘यस्तो प्रस्ताव राख्ने त्यो मान्छे को थियो? अमेरिकन हो?’ बिपीले होइन भने। त्यसपछि कार्यकर्ताले फेरि भारतीय हो त भनी सोधे। बिपीले नकारात्मक जवाफ दिए। फेरि ती कार्यकर्ताले उसोभए नेपाली हो त भनेर सोध। बिपीले फेरि पनि होइन भने। बिपीलाई राष्ट्रपति बन्ने प्रस्ताव लिएर आउने त्यो मानिस को थियो त? बिपीका बारेमा लामो समय अध्ययन गरेका पत्रकार नेपाल त्यस मान्छेका बारेमा अझैसम्म थाहा नभएको बताउँछन्।

त्यो मानिसले राजतन्त्र नै हटाएर आफूसँग राष्ट्रपति बन्ने प्रस्ताव राखेको घटनालगत्तै बिपीले आफ्नो माहिलो छोरो श्रीहर्ष कोइरालालाई गिरिजासँग भेट्न पठाए। गिरिजालाई दिनु भनेर बिपीले श्रीहर्षलाई सानो चिट दिएका थिए। चिटमा लेखिएको थियो, ‘राजाले रेफरेन्डम गर्ने कुरा गरेका छन्, तिम्रो विचार के छ?’

गिरिजाप्रसादलाई ‘रेफरेन्डम’ को अर्थै थाहा रहेनछ। उनले डिक्सनरी मगाएर हेरे। डिक्सनरी हेरेर फरेन्डम भनेको जनमतसंग्रह भन्ने थाहा भएपछि गिरिजाले उत्साहित हुँदै ‘जनतामा जाने कुरा हो सान्दाइ राम्रो हुन्छ, जानुपर्छ’ भनेर प्रतिक्रिया पठाए। राष्ट्रपति बन्न प्रस्ताव गर्ने मान्छेले बिपीलाई भेटेको ४८ घण्टाभित्र नेपालमा जनमत संग्रह घोषणा भयो।

बिपीलाई अपरिचित व्यक्तिले राष्ट्रपति बन्ने प्रस्ताव राखेको बेला उनीहरुको संवाद सुन्ने कांग्रेस कार्यकर्ताले जनमत संग्रह घोषणा भएपछि बिपीलाई सोधे, ‘सान्दाइ तपाईंले किन राष्ट्रपति हुने प्रस्ताव स्वीकार गर्नुभएन? तपाईंलाई आठ वर्ष जेल थुने, त्यत्रो मुद्दा लगाएर दुःख दिए तर तपाईंले राजालाई किन राख्न खोजेको?’

उसको प्रश्न सुनेर मन्द हाँस्दै बिपीले भने, ‘त्यत्रो दुईसय वर्ष लामो राजसंस्थालाई चुट्कीको भरमा फाल्न सक्ने शक्तिले आफैँले बनाएको मान्छेलाई कति समय राख्न सक्ला? नेपालको स्थिरता के होला?’

फेरि त्यस युवकले बिपीलाई सोध्यो, ‘त्यसो भए तपाईंलाई राष्ट्रपतिको प्रस्ताव गर्नेलाई किन ‘नो’ भन्नुभएन त?’

बिपीले पुनः पूर्ववत मन्द मुस्कानमै उत्तर दिए, ‘मैले ‘नो’ भनेको भए उसले अर्को पात्र खडा गथ्र्यो। त्यो झन् गैरजिम्मेवार र बढि क्षति हुने विषय बन्न पुग्थ्यो।’

जनमतसंग्रह घोषणा हुनुअघि दरबारमा रातभरी बैठक चल्यो। राती नै जनमत संग्रह घोषणा गर्नुपर्ने दबाबमा थियो दरबार। दरबारका सचिव रंगनाथ खनालले राती रेडियो पनि खुलेको हुँदैन, मान्छे सुतेका छन् यो मध्यराती बरु बिहान गरौँ भनेपछि राजाले बिहान ६ः४५ बजे जनमत संग्रह घोषणा गरे।

यसरी आफ्नो अगाडि आइपुगेको षड्यन्त्रकारी प्रस्तावलाई बिपीले अस्वीकार गरे। उनलाई जीवनभर दुःख दिने राजतन्त्रप्रति कुनै पूर्वाग्रह नराखी राष्ट्रियतालाई प्राथमिकतामा राखे। तर जयबागेश्वरी पुगेर बिपीलाई राष्ट्रपति बन्न प्रस्ताव गर्ने मान्छे को थियो, त्यो इतिहासकै गर्भमै छ।

– मनोज खतिवडा / नेपाल खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖