यो ‘मङ्की सेल्फी’ले एक फोटोग्राफरलाई विश्व मै चर्चित बनायो, त्यही फोटोका कारण यसरी भयो जीवन बर्बाद !

एजेन्सी / लन्डन, साउन ९ । इन्टरनेटमा कालो बाँदरको एउटा सेल्फी खुब चर्चित छ । धेरैले यो तस्वीर देखेको हुनु पर्दछ । यही तस्वीरका कारण विश्वमा चर्चित भएका फोटोग्राफर कसरी सोही तस्वीरका कारण बर्बाद भए भन्नेबारे चाहीँ कमैलाई जानकारी हुन सक्छ ।

बेलायतको ‘अवार्ड विनिङ्ग’ प्रख्यात वाइल्ड लाइफ फोटोग्राफर डेभिड स्लेटरको क्यामेरामा उक्त बाँदरको तस्वीर खिचिएको हो । इन्डोनेसियाको एक नेशनल पार्कमा ४५ डिग्री तापमानमा दुर्लभ जनावरको तस्वीर लिने कोसिसमा रहेका स्लेटरले सटिक फ्रेम र प्राकृतिक प्रकाशमा लेन्स सेट गरेका थिए । सोही क्रममा उनले एक दुर्लभ प्रजातिको बाँदर देखे ।

उनले उक्त बाँदरसँग मित्रवत व्यवहार गर्दै केहीबेर खेले । आफूले चाहेजस्तो पोजमा बाँदरको तस्वीर लिनका लागि उनले यस्तो गरिरहेका थिए । केहीबेरमै अन्य बाँदर पनि आए । उनको यो प्रयास सफल पनि भयो ।

सुरुमा त उनले रिमोट डिभाइसबाट बाँदरहरुको नेचुरल क्लोज तस्वीर लिने सोच बनाए । तर उनले तत्कालै सो सोचलाई परिवर्तन गरे । एउटा बाँदर उनको क्यामेरा सामू पुग्यो । उसले लेन्समा आफ्नो अनुहार हेर्दै क्यामेरा चलाउन थाल्यो । क्यामेरा चलाउने क्रममा उक्त बाँदरले तस्वीर खिच्ने बटन थिच्यो । सायद सटरको आवाजले लोभिएको उक्त बाँदरले उक्त बटनलाई कयौंपटक थिच्यो । यस क्रममा विभिन्न प्रकारका कयौं तस्वीर क्यामेरामा कैद भयो ।

तस्वीर धुलाउने क्रममा स्लेटरले एउटा तस्वीरलाई निकै उत्कृष्ट ठाने । सोही तस्वीर उनले सार्वजनिक गरे । मानिसहरुले उक्त तस्वीरलाई रुचाए । अनि नाम पनि दिए– मङ्की सेल्फी ।

उक्त तस्वीर यति सशक्त थियो कि विश्वमा ५ करोडपटक भन्दा बढी उक्त तस्वीर प्रकाशित भइसकेको छ । यही तस्वीरका कारण उनी विश्व प्रख्यात पनि भए ।

सोही तस्वीर उनको फोटोग्राफी क्यारिअरमा दुर्भाग्य पनि बन्यो । उनले त्यति चर्चित तस्वीरबापत आर्थिक रुपमा केही आम्दानी गर्नु त परै जावस्, भएको सम्पत्ति पनि खर्चिनु प¥यो ।

उक्त तस्वीर पहिलोपटक प्रकाशित भएपछि जनावरसम्बन्धी एक संस्थाले स्लेटरविरुद्ध क्यालिफोर्नियाको एक अदालतमा प्रतिलिपि अधिकारको मुद्दा दायर गरिदियो । उक्त संस्थाका अनुसार सो तस्वीरमाथि फोटोग्राफर स्लेटरको कुनै अधिकार लाग्दैन । अदालतमा सो संस्थाले तर्क राख्यो– ‘यो तस्वीर स्लेटरले खिचेको होइन, बाँदरले खिचेको हो । त्यसैले यसको स्वामित्व पनि बाँदरलाई नै जान्छ ।’

स्लेटरले अदालतमा आफ्नो तर्क राख्दै भने, ‘तस्वीर बाँदरले नै खिचेको भए पनि यसको माहोल मैले तयार पारेको हो, क्यामेरा, प्रकाशको व्यवस्था मैले नै मिलाएको हो । त्यसैले तस्वीरमा मेरो अधिकार लाग्छ ।’

अदालतमा मुद्दा चलिरहँदा एउटा ब्लगले ‘मङ्की सेल्फी’ लाई ‘कपीराइट फ्री’ रुपमा अनलाइनमा प्रकाशन गरिदियो । सो ब्लगको तर्क थियो, ‘यो तस्वीर बाँदरले खिचेको हो, त्यसैले यसमा फोटोग्राफर स्लेटरको कुनै अधिकार लाग्दैन ।’

एकातिर प्रतिलिपि अधिकारबाट तस्वीरबापतको रकम आफूले नपाउनु अनि अदालती चक्करमा ठूलो राशी खर्च गर्नु पर्दा फोटोग्राफर स्लेटरको आर्थिक अवस्था नाजुक बन्यो ।

यहाँसम्म की, स्लेटरले घर खर्च चलाउन पनि आफ्नी पत्नीको आम्दानीमा निर्भर हुनु परेको छ । मुद्दामा फसेका कारण उनले आफ्नो फोटोग्राफी क्यारिअरलाई अघि बढाउन समय पाएनन् भने पैसा पनि निकै खर्च गर्नु पर्‍यो । छोरीको पढाइ खर्च जुटाउन पनि उनलाई संकट भयो । अदालतमा उक्त मुद्दाको छिनोफानो अझै भएको छैन । – ईमेजखबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।