वि.पी, गिरिजाप्रसाद, किशुन जिलाई जस्तै अब अरुलाई जनताले माफ गर्ने छैनन् : सुजता – भिडियो सहित

‘पार्टीलाई मजबुद बनाउन कोइराला परिवार ब्युतियो’

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्, ‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ, मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्छ, फलानोको र ढिस्कानोको मान्छे भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रिय कार्यसमितिमा नियुक्ती गर्नु उचित हुँदैन् ।’

उनले पार्टीभित्र तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको पालामा पनि ६० र ४० को भागबण्डा हुँदा त्यसले पार्टीलाई राम्रो नगरेको स्मरण गर्दै भनिन्, ‘त्यति वेलापनि मैले गुटबन्दी हुनुहुँदैन भनेर बोलेकी थिएँ, त्यसले पार्टीलाई कमजोर बनाएको छ, अब पनि गुटबन्दी हुनु भनेको पार्टी ध्वस्त हुनु हो, गुटबन्दी भयो भने कसरी एउटा पार्टी हुन्छ ? यो त दुई वटा पार्टीजस्तै भैगयो नि ?’

उनले पार्टीभित्रका राम्रा–राम्रा मान्छेहरु अहिले सुतेर बसेको समेत गुनासो पोखिन् । उनले भनिन्,‘पार्टीका सक्षम र राम्रा साथीहरुलाई पन्छ्याईएको छ, उहाँहरु निराश भएर सुुतेर बस्न बाध्य हुनुभएको छ, पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले योग्य र सक्षम नेताहरुलाई स्थान दिनुपर्छ, कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन्, सभापतिले अब कुनै एक व्यक्ति र कुनै एक समूहलाई मात्रै चित्त बुझाउनेगरि मात्रै काम गर्नुहुँदैन, उहाँले सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

कोइरालाले पार्टीभित्र पन्छ्याईएका र सुतेर बसेका नेता तथा कार्यकर्ताहरुलाई नेतृत्वले जगाउनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘लिडरले सबैलाई उत्साहित बनाउनुपर्छ, फेरि पहिलेकोजस्तै गर्नुपर्छ, अब कुनैपनि ग्रुपिज्म हुँदैन भन्ने फिलिङ्स दिन सक्नुपर्छ ।’ उनले अहिले देखिएको गुटबन्दी चरम विन्दुमा पुगेको भन्दै उक्त गुटबन्दी अन्त्य गर्नको लागि आफूले पहल गर्ने समेत स्पष्ट पारिन् ।

‘निर्वाचनको टिकट जनताका लोकप्रियलाई दिनुपर्छ’

नेतृ कोइरालाले निर्वाचनको लागि टिकट वितरण गर्दा सही ढंगले गर्नुपर्ने बताईन् । उनले भनिन्, ‘जनतामा पपुलर र ग्रासरुटमा भिजेका नेता तथा कार्यकर्ताहरुलाई टिकट दिनुपर्छ ।’ पार्टीभित्र सबैलाई मिलाएर लैजानको लागि पार्टी नेतृत्वले धेरै मेहनत गर्नुपर्ने उनको धारणा थियो ।

कोइरालाले थपिन्, ‘कांग्रेसको कमजोरी भनेको नै युनिटी नहुनु हो, जिल्ला–जिल्लामा अहिले कांग्रेस विभाजित बनेको छ, माथिको विभाजन तलसम्म पुगेको छ।’ माथिदेखि तलसम्म पार्टीमा एकता नहुँदा हालै सम्पन्न भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा हार व्यहोर्नुपरेको उनको दाबी थियो । पार्टीलाई सुदृढ एबम् बलियो बनाउनको लागि पार्टी सभापति देउवाले धेरै मेहनत गर्नुपर्ने उनको जोड थियो ।

‘सरकारमा महिला उपप्रधानमन्त्री, पार्टीमा उपसभापति महिला हुनुपर्छ’

त्यस्तै, उनले संविधानले उल्लेख गरे बमोजिम महिलाहरुलाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताईन् । ‘जेण्डर ब्यालेन्स मिलाउनको लागि पनि महिलाहरुलाई हरेक निकायमा संविधानले उल्लेख गरेबमोजिम उपस्थिति गराउनुपर्छ, उनले अघि थपिन् ‘संसदमा पनि महिलाहरुलाई ३३ प्रतिशत अनिवार्य उपस्थिति गराउनुपर्नेछ, पार्टीमा पनि दिनुपर्छ, महिला उपप्रधानमन्त्री किन नहुने ?’

कांग्रेसले पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने समेत उनले चेतावनी दिईन् । उनले भनिन्, ‘पार्टीभित्र महिलाहरुलाई पनि स्थान दिनुपर्छ, उचित स्थान नदिए उत्साह मर्छ, सक्षम महिलाहरु धेरै छन् ।’

त्यस्तै उनले पार्टीभित्र महिलालाई पनि उपसभापति दिनुपर्ने बताउँदै त्यसको लागि आफू योग्य रहेको जिकिर गरिन् ।

‘पार्टीलाई मजबुद बनाउन कोइराला परिवार ब्युतियो’

हालै कोइराला परिवारका नेताहरु क्रमशः महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला र आफूवीचको भेटघाट पार्टीलाई कसरी मजबुद बनाउने र एकतावद्ध गर्ने भन्नेमा मात्रै केन्द्रित रहेको समेत उनले स्पष्ट पारिन् । उनले भनिन्,‘हामीलाई पार्टीबारे चिन्ता छ, कसरी पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ भन्ने नै हाम्रो मुल चिन्ता हो, पार्टी एकता नै हाम्रो जोड हो।’ उनले आफूहरुको लञ्च तथा डिनर नियमित भैरहेकोले यसलाई आश्चर्यको विषय नमान्न समेत आग्रह गरिन् । उनले भनिन्,‘हामी तीन जना नेताले सँगै लञ्च गरेको कुरालाई ठूलो ईस्यु बनाउनुहुँदैन्।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖