चीनसँगको सिमानामा तैनाथ गर्ने भनिएको भारतमै निर्मित ३० प्रतिशत क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएपछि भारतमा चिन्ता
काठमाडौं, १५ साउन । एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने ३० प्रतिशत क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएको भन्दै लडाइँका बेला त्यसले जोखिम निम्त्याउन सक्ने औंल्याएको छ ।

भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने ३० प्रतिशत क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएको एउटा आधिकारिक प्रतिवेदनले देखाएको छ । लडाइँका बेला त्यसले जोखिम निम्त्याउन सक्ने प्रतिवेदनले औंल्याएको छ ।
त्यस्ता क्षेप्यास्त्रको अवस्थाबारे विवरण दिएको प्रतिवेदनले २० वटा क्षेप्यास्त्र परीक्षण गरिएकोमा केही अपेक्षित गतिमा नगएको र केही लक्ष्यसम्म नपुगेको उल्लेख गरेको छ। त्यस्तै केही क्षेप्यास्त्र प्रहार नै हुन नसकेको बताइएको छ ।
शत्रुको विमान आफ्नो क्षेत्रमा प्रवेश गरे त्यसलाई प्रहार गर्न भनेर बनाइएका ‘आकाश’ नामक क्षेप्यास्त्रको विकासमा भारतीय रक्षा मन्त्रालयले ७० करोड डलरभन्दा बढी खर्च गरेको बताइन्छ ।
ती क्षेप्यास्त्रहरु चीनसँगको सिमानामा तैनाथ गर्ने भारतीय योजना रहेको बताइएको छ । तर प्राप्त विवरणहरु अनुसार क्षेप्यास्त्र तैनाथ गरिने स्थलहरु तयार नभइसकेकोले हालसम्म एउटा पनि तैनाथ गरिएको छैन । – बीबीसी


