२ नम्बर प्रदेश मा लहर ल्याउँदै एमाले, पत्रकारको कार्यक्रममै अन्य दलका कार्यकर्ता एमालेमा प्रवेश

बीरगञ्ज, १७ साउन । केही समय अघिसम्म तराईकेन्द्रित पार्टी देखि सत्तारुढ कांग्रेस–माओवादीसम्मका नेताहरुले प्रमुख प्रतिपक्षी एमालेलाई मधेस विरोधी पार्टीका रुपमा चित्रण गर्थे । तर, तराई मधेसका नाममा राजनीति गरेका दलसँग आफैं सम्झौता गर्ने र कार्यान्वयन गर्ने बेला सबै मिलेर एमालेलाई मधेस विरोधी भनी आरोप लगाउने उनीहरुको प्रचारलाई तराई मधेसमा पत्याईन छोडिएको छ ।

पत्रकारहरुको भेलामा पुगेका एमाले नेताहरुलाई समेत भेटेर तराई मधेसमा अन्य दलका कार्यकर्ता एमाले प्रवेश गर्न थालेका छन् । मंगलवार प्रेस चौतरी नेपालको प्रदेश नम्बर २ स्तरीय भेलालाई सम्बोधन गर्न एमाले महासचिव ईश्वर पोखरेल बीरगञ्ज पुग्नुभयो । प्रदेश नम्बर २ को चुनावी अभियान भन्दा बेग्लै कार्यक्रममा समेत एमाले महासचिव पोखरेलले अन्य दलका कार्यकर्तालाई टीका लगाएर पार्टी प्रवेश गराउनु भयो ।

भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले स्थानीय तहको दुई चरणका चुनावमा महागठबन्धनहरुलाई पराजित गर्दै एमालेले अग्रता हासिल गरेको र प्रदेश नम्बर २ मा पनि महागठबन्धनलाई पराजित गरी एमाले पहिलो पार्टी बन्ने ठाकुवा गर्नुभयो । ‘यो प्रदेश नम्बर २ मा पनि जस्तासुकै महागठबन्धन बनुन्, एमाले पहिलो पार्टी हुनेछ’ महासचिव पोखरेलको भनाई थियो, ‘एमालेको विरोधमा कयौं भ्रमपूर्ण कुरा प्रचार भएका छन् । त्यसलाई अव जनताले पत्याउँदैनन् ।’

महासचिव पोखरेलले एमाले तराई मधेसमै जन्मिएको र यहीँका जनताले हुर्काएको पार्टी भएकाले तराई मधेसको समस्या समाधान गर्न पनि एमाले बाहेकका कुनै सरकारले काम नगरेको उदाहरण पेश गर्नुभयो । ‘एमाले मधेस विरोधी हो भन्ने भ्रमपूर्ण नारा च्यातेर यहाँका जनता एमालेको पक्षमा उभिएका छन् । एमाले तराई मधेसमै एमाले जन्मियो, यहीँकै जनताले एमालेलाई हुर्काए । तराई मधेसको समस्या यहाँका मसिहाहरु कतिपटक सरकारमा गए कसैले मधेसको समस्या समाधान गर्न पहल गरे ?’ पोखरेलको प्रश्न थियो, ‘नागरिकता समस्या समाधान गर्न मनमोहन अधिकारी नेतृत्वको सरकारले धनपति उपाध्यायको अध्यक्षतामा नागरिकता आयोग बनाएर प्रतिवेदन दियो । तर, त्यस आयोगको प्रतिवेदन लागू गर्न नदिने कांग्रेस होइन ?’

पोखरेलले मधेसको नाममा राजनीति गर्ने नेताहरु र कांग्रेस माओवादीले सबैले गरेका काम एमालेले गरेका कामसँग तुलना गर्न चुनौती दिनुभयो । ‘नेपालको कुन राजनीतिक पार्टीले नेतृत्व गरेका बेला मधेसका समस्या समाधान गरे ? म चुनौतीका साथ भन्न चाहन्छु, एमालेको सरकार बाहेक तराई मधेसका समस्या समाधान गर्न कसैले चासो देखाए ?’ पोखरेलको प्रश्न थियो, ‘एमालेलाई मधेस विरोधी भनी भ्रमपूर्ण प्रचार गर्नुभन्दा तपाईंहरुले मधेसका लागि के गर्नुभयो ? एउटा राम्रो कामको उदाहरण दिनुस् ।’

प्रदेश नम्बर २ को स्थानीय चुनाव परिचालनका सिलसिलामा एमाले स्थायी समितिका सवैजसो नेताहरु अहिले प्रदेश नम्बर २ मा केन्द्रित हुनुहुन्छ । प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा राजपा निकट प्रेस मञ्चका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ रौतहटका अध्यक्ष रवीन्द्रकुमार साह एमाले प्रवेश गर्नुभएको छ । उहाँसँगै विभिन्न पार्टीका करिव १ सय जना एमाले प्रवेश गर्नुभएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖