वंशज नागरिकता लिएकाले मात्र सर्वोच्च पदका लागि योग्य हुनुपर्छ : एमाले
पर्सा, १७ साउन । नेकपा (एमाले)का महासचिव ईंश्वर पोखरेलले नेपालमै जन्मिएका नागरिक मात्र राष्ट्रको उच्च संवैधानिक पदमा जान पाउनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल प्रदेश नं.२ को आज वीरगन्जमा आयोजित विस्तारित बैठकको उद्घाटन गर्दै उहाँले भन्नुभयो –“वंशजको नाताले नागरिकता प्राप्त गरेका नेपाली नागरिक मात्र राष्ट्रको सर्वोच्च संवैधानिक पदका लागि योग्य हुने पक्षमा एमाले छ ।”
महासचिव पोखरेलले प्रधानमन्त्री, राष्ट्रपति, मुख्य न्यायाधीश, सेना तथा प्रहरी प्रमुख, प्रान्तका मुख्य मन्त्री जस्ता अति नै सम्वेदनशील पदमा संविधान संशोधनमार्फत केही दलले अंगिकृत नागरिक पु¥याउन चाहेको आरोप लगाउँदै संविधानमा सबैलाई समान अधिकार र समतामा अधारित शासन व्यवस्थाको परिकल्पना गरिएको छ भन्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले तथ्य र सत्यमा आधारित सामाचार लेख्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नम्बर २ का इन्र्चाज सत्यनारायण मण्डल, केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, राजकुमार गुप्ता, विचारी यादव र रामचन्द्र साहलगायतका वक्ताले छ वटा प्रदेश झै २ नम्बर प्रदेशमा समेत स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो । रासस


