‘२ नं प्रदेश मा पनि एमाले पहिलो हुन्छ’
लहान, २० साउन । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन जस्तै तेस्रो चरणअन्तर्गत २ नं प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो शक्ति नै हुने दाबी गर्नुभएको छ ।
सचिव ज्ञवालीले आज लहानमा प्रेस चौतारी नेपाल सिरहाद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो दाबी गर्नुभएको हो ।
उहाँले एमालेले तराई–मधेशको विकासका लागि गरेका कार्य र तराई–मधेशमा ठूला पूर्वाधार निर्माण गरेर औद्योगिकीकरण गरी युवालाई स्वरोजगार गर्न अघि सारेका एजेण्डाहरुकै कारण एमालेका पक्षमा तराई–मधेशका जनता उत्साहित देखिएकाले तेस्रो चरणको स्थानीय तह निर्माणमा आफ्नो पार्टी पहिलो बन्ने तर्क गर्नुभयो ।
उहाँले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाहेकका अन्य राजनीतिक दलसँग चुनावी तालमेल गर्न सकिने बताउनुभयो ।
उहाँले आवश्यकता र औचित्यका आधार मात्र संविधान संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । रासस


