ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारको निशानामा मोर्चाका नेताहरु, अहलुवालियाले गोर्खालीलाई निराश बनाए
इलाम । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा जनमुक्ति मोर्चाको नेताहरुलाई पक्रन शुरु गरेको छ । एक नेता विरुद्ध ३० भन्दा बढी मुद्दा लगाएको बंगाल सरकारले निगरानीमा राखेको २३ भन्दा बढी मोर्चाका नेता मध्ये तल्लो तहका नेताहरुलाई पक्रन शुरु गरेको हो ।

भारतीय प्रहरीले पूर्व सभासद नर्वुजी लामालाई शुक्रबार मध्यरातमा सिलिगुडीबाट पक्राउ गरेको गोर्खा जनमुक्ति मोर्चाकी महिला नेतृ निरा शर्माले बताइन् । उनले बंगाल सरकारको निशानामा दोस्रो र तेस्रो तहका नेताहरु पर्न थालेको भन्दै आफुहरु पनि असुरक्षित बन्दै गएको बताइन् । बंगाल सरकारले लामालाई भानु भवनमा आक्रमण गरेको आरोप सहितका २५ मुद्दा लगाएको छ ।
आन्दोलनका क्रममा पहाडमा दर्जनौ सरकारी भवन, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुगेको छ । घटनाको छानविनका लागि सरकारले जासुस परिचालन गरेको शर्माले जानकारी दिइन् । लामालाई शनिबार नै जिल्ला अदालत सिलिगुडीमा उपस्थित गराइएको छ । मोर्चाको सुकुना पानीघट्टा क्षेत्रका अध्यक्ष रमेश श्रेष्ठको घरमा पनि प्रहरी र सिआरपिएफको समुहले खानतलासी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले तृणमुल काग्रेसका स्थानीय नेताको सुराकीमा खानतलासी भएको बताएका छन् ।
अहिलेसम्म ११ जनाले ज्यान गुमाई सकेको गोर्खाल्याण्ड आन्दोलनमा २५ भन्दा बढी घाइतेको अवस्था चिन्ताजनक रहेको विषयमा खास गम्भिर नदेखिएको बंगाल सरकारले मोर्चा विरुद्ध चालेको अर्को कदमलाई गम्भिरताका साथ लिएको नेत्री शर्माले बताइन् । १६ दिन देखि अनशनमा बसेका १२ जना युवाको अवस्था चिन्ताजनक बनेपनि बंगाल सरकारले उनीहरुको जीवनप्रति वास्ता नगरेको विद्यार्थी मोर्चाका प्रवक्ता सन्दिप क्षेत्रीले बताए । उनीहरुको मृगौलासहितको अंगमा समस्या देखिएको डक्टरहरुले बताएका छन् ।
अहलुवालियाले मोर्चालाई निराश बनाए
गोर्खा जनमुक्ति मोर्चाको समर्थनमा सांसद भएका भारतीय जनता पार्टी (भाजपा)का नेता एसएस अहलुवालियाले गोर्खाल्याण्डको पक्षमा आवाज उठाउने अपेक्षा गरेको मोर्चा नेतृत्व उनको तटस्थ भुमिकाका कारण निराश बनेको छ । भाजपा, मोदी सरकार र अहलुवालियाको साथ पाउने आशामा रहेको मोर्चा तीनै पक्षको असहयोगको कारण निराश बनेको हो ।
बंगाल विभाजनको विपक्षमा गोर्खाल्याण्ड बाहेकको अन्य क्षेत्र रहेको विश्लेषणमा रहेका भाजपा गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गरे अरु क्षेत्र ‘विच्किने’ डरले खुल्न नसकेपछि मोर्चा एक्लै परेको कतिपय विश्लेषकहरुले बताउन थालेका छन् । यता व्यनर्जी सरकार भने जसरी पनि आन्दोलनलाई निस्तेज वनाउने कसरतमा लागेको छ । आन्दोलनसँगै बन्द गरिएको इन्टरनेट सेवा अझै खुलाएको छैन । मोर्चा अध्यक्ष विमल गुरुङले सञ्चालन गरेको विद्यालय समेत बन्द गर्न आदेश दिएको नेत्री शर्माले जानकारी गराइन । – न्यूज24बाट


