असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि बीरगंज महानगरपालिकामा एमालेद्वारा उम्मेदवार घोषणा
वीरगन्ज । नेकपा एमालेले तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ । प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो ।

अन्सारी भर्खरै नेकपा (एमाले)मा प्रवेश गर्नुभएको हो र उहाँ वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुनुहुन्छ भने सोफिया आचार्य भने एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यका पत्नी हुन् ।
एमाले महासचिव ईश्वर पोखरेलको उपस्थितिमा भएको नेकपा एमाले प्रदेश नं २ का बैठकले अन्सारी र आचार्यलाई क्रमशः वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको घोषणा गरेको छ
प्रदेश नं २ का एमाले प्रमुख सत्यनारायण मण्डल, उपप्रमुख नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह लगायतका नेताको सहभागितामा सम्पन्न सो बैठकले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पाँच वटा समूह बनाएर सांसद महिला, दलित र विद्यार्थी नेतालाई परिचालन गर्ने निर्णय गरेको एमाले प्रचार विभागका प्रमुख डा विश्वभर शर्माले बताएका छन् ।
देशका ६ वटा प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले तेस्रो चरणमा हुने २ नम्बर प्रदेशको निर्वाचनमा होमिएको छ । दुई नम्बर प्रदेशको निर्वाचनलाई एमालेले प्रतिष्ठाको बिषय बनाएको छ । एमालेका शीर्षनेताहरु २ नम्बर प्रदेशको निर्वाचनमा जुटेका छन् । महासचिव इश्वर पोखरेल र सचिव योगेश भट्टराई २ नम्बर प्रदेशको निर्वाचनमा जुटेका छन् । सचिव भट्टराई जनकपुरमा खटिएका छन् ।
– तस्वीरमा बसरुद्दिन मियाँ र सोफिया आचार्य


