२०१७ पुस १ गतेको ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लाग्यो : सत्यमोहन जोशी

गाईजात्रा : सत्ययुगको धानचामल हेर्न पाटन जाऔँ

काठमाडौँ, २४ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँन्छ ।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाइन्छन् ।

व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेकोसंस्कृतिविद् सत्यमोहन जोशी सम्झनुहुन्छ । “विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा मनायो, त्यसपछि प्रज्ञाले सात वर्षसम्म यसलाई निरन्तरता दियो”, त्यसबेलाको घटना सम्झँदै उहाँले भन्नुभयो ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभाबी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने संस्कृतिविद् जोशीको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमुना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायत स्थानमा मनाइन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।