२ नम्बर प्रदेश मा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?

काठमाडौँ, २४ साउन । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ ।

तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज सो विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेको छ । यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहका निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेपछि काँग्रेसले त्यसको क्षतिपूर्ति प्रदेश नं २ बाट गर्ने योजना बनाएको पार्टी कार्यालयले जनाएको छ ।

आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको कार्यसम्पादन बैठकको छलफल आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन केन्द्रित रहेको नेता डा नारायण खड्काले जानकारी दिनुभयो । काँग्रेसले विगत निर्वाचनमा भएका कमजोरी सच्याएर समयमै पार्टीका आधिकारिक उम्मेदवार तय गर्ने, प्रभावकारी प्रचारप्रसार कार्यक्रम गर्ने, पार्टीभित्रका असन्तुष्टिलाई समयमै व्यवस्थापन गर्नेलगायत तयारी भइरहेको जनाएको छ ।

संविधान संशोधन प्रस्तावलाई अघि बढाउन पहल गर्ने, सम्बोधन भइसकेका मधेशका अन्य कतिपय मागका बारेमा जनतालाई जानकारी गराउने र निर्वाचनमा पार्टीका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गर्ने बारेमा समेत बैठकमा छलफल भएको नेता डा खड्काले बताउनुभयो ।

काँग्रेसले यसअघि तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही साउन ५ र ६ गते प्रदेश नं २ का काँग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापतिलगायत नेताको काठमाडौँमा भेला गरेको थियो ।

भेलाले निकालेको निष्कर्षलाई साउन ९ गतेको पार्टीको केन्द्रीय समिति बैठकले सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको थियो । पार्टीले निर्वाचनका तयारीका लागि हालै प्रदेश नं २ मा समेत बृहत् भेला गरिसकेको छ । काँग्रेसले सदैव समृद्ध मधेश र अधिकारसम्पन्न मधेशी जनताका पक्षमा रही काम गर्दै आएको र तराई–मधेशका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्प रहेको तथ्यलाई ध्यानमा राखी पार्टीका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रहसमेत गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।