आसन्न निर्वाचनलाई लक्ष्य गरी एमाले काठमाडौँको संगठन सुदृढीकरण तथा जन परिचालन अभियान शुरु

काठमाडौँ, ३० साउन । नेकपा (एमाले), काठमाडौँ जिल्ला कमिटीले आजदेखि संगठन सुदृढीकरण तथा जन परिचालन अभियान २०७४ शुरु गरेको छ ।

प्रदेशसभा र संघीय संसद्को आसन्न निर्वाचनलाई लक्ष्य गरी शुरु गरिएको यो अभियानअन्तर्गत कार्यकर्ता र जनस्तरमा केन्द्रीय तहका नेता तथा जनसंगठनका कार्यकर्ता पुगेर विविध कार्यक्रम गरिनेछ । दुई महिने यो अभियान आगामी असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा महानगरपालिका प्रमुखसहित करिब ६५ प्रतिशत स्थानमा विजयी हासिल गरेपछि देखिएको उत्साहलाई मनोबलमा परिणत गर्न अभियान शुरु गरिएको जिल्ला अध्यक्ष कृष्ण राईले बताउनुभयो । उहाँले पार्टीका कमिटीमा रहेका आन्तरिक तिक्ततालाई समाधान गर्दै निर्वाचनमा पार्टीलाई हराउन लाग्नेलाई केन्द्रको निर्देशनअनुसार कारबाही र शुद्धीकरण गरिने पनि बताउनुभयो ।

अभियानको शुभारम्भ गर्दै एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई भीडमा आधारित होइन सुदृढ संगठनसहितको शक्तिमा रुपान्तरण गर्न आवश्यक रहेकामा जोड दिँदै विचारमा स्पष्टता र एकरुपता नभए संगठन सृदृढ नबन्ने बताउनुभयो ।

पार्टीभित्र कुनै विषयमा चित्त नबुझेमा विधिपूर्वक कुरा राख्न र फाँटिएको विचार बोकेर नहिँड्न आग्रह गर्दै उहाँले संगठनात्मक अराजकताको सिलसिला चलेमा दुर्भाग्यपूर्ण हुने उल्लेख गर्नुभयो । जिल्ला कमिटीलाई विधान बमोजिम अधिवेशन सम्पन्न गर्न निर्देशन दिँदै महासचिव पोखरेलले भन्नुभयो, “कमिटीभित्र नमिलेका जोड घटाउ र विवाद तत्काल विधिसम्मत रुपमा मिलाउनोस् ।”

एमाले प्रदेश नं ३ का सहसंयोजक काशीनाथ अधिकारीले विजय हासिलसँगै पार्टीका लागि चुनौती खडा भएकाले त्यसलाई सामना गर्न अभियान सार्थक हुने अपेक्षा व्यक्त गर्नुभयो ।

पार्टीका पोलिटब्यूरो सदस्य तथा उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठले सत्ता पक्षका पार्टी मिलेर लड्दा पनि स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेकाले राष्ट्रियता र समृद्धिसम्बन्धी पार्टीको नीति सही सावित भएको दाबी गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौँ इञ्चार्ज सावित्रा भुषालले संघीय निर्वाचनमा पनि काठमाडौँमा १० वटै निर्वाचन क्षेत्र हुने सम्भावना रहेकाले ती सबै क्षेत्रमा स्थानीय तहमा प्राप्त मतलाई कायम राख्न संगठनलाई चुस्त र दुरुस्त बनाउन आवश्यक रहेको जनाउनुभयो ।

एमाले प्रदेश नं ३ का सदस्य योगेन्द्र संग्रौलाले जिल्ला कमिटीले सुरु गरेको अभियानमा प्रदेशस्तरका नेता पनि परिचालित हुने जानकारी दिनुभयो ।

जिल्ला कमिटीका सचिव एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचन घोषणापत्रमा उल्लेख भएअनुसार महानगरको विकास र समृद्धिमा आफूहरु योजनावद्ध रुपमा अघि बढेको उल्लेख गर्नुभयो । यस जिल्लमा एमालेका १० हजार पार्टी सदस्य रहेको बताइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।