माओवादीबाट बाहिर गएका डा भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द लगायत पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम भट्टराई एकताको प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “माओवादीबाट बाहिर गएका डा भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत पनि एकता प्रक्रियामा आउँछन् । एकता नगरी सुखै छैन । यो नेपाली जनताको माग हो ।”

सनक र लहडको भरमा अगाडि बढेर नेपाली जनताको अपेक्षा पूरा हुन नसक्ने स्पष्ट पार्दै उहाँले ज्ञान भएकै भरमा पार्टी चलाउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “डा भट्टराईसँग ज्ञान छ तर पार्टी चलाउने बुद्धि भएन । ढिलो चाँडो उहाँ माओवादीमा समाहित हुनै पर्छ । उहाँ आउनुहुन्छ ।”

उहाँले मुलुकको आवश्यकता र चाहनालाई ख्याल गरेर आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अगाडि सारेको भन्दै त्यसले नै सबैको हित गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक रामचन्द्र झा, सोही पार्टीका नेता रामकुमार शर्मालगायतका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नुभएको थियो । माओवादीको केन्द्रीय नेतृत्वमा रहेका झा र शर्मा डा भट्टराईसँगै नयाँ शक्तिमा जानु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता झाले विचार र राजनीतिको अभावमा डा भट्टराईले कुनै नयाँ चमत्कार गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले कुनै पनि बहाना गरेर अब छुट्टाछुट्टै नबस्न समेत डा भट्टराईलाई आग्रह गर्नुभयो ।

अर्का नेता शर्माले आफूले ठूलो अपेक्षाका साथ डा भट्टराईलाई साथ दिएको भए पनि कुनै उल्लेखनीय काम गर्न नसकेको र यथास्थितिवादको रक्षा मात्रै गरेकाले आफूहरु आफ्नै घरमा फर्केको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत नेताहरुको उपस्थिति थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।