माओवादी केन्द्रले अब हार्ने ठाउँ छैन : प्रचण्ड
संविधान संसोधनका विषयमा प्रचण्डले देउवालाई दिए यस्तो जवाफ
सुर्खेत ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताएका छन् । संगठन परिचालनको कमी र नेता गाउँ नजाँदा स्थानिय तहको निर्वाचनमा हार बेहोर्नुपरेको बताएका छन् । पार्टीको प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रममा सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको भन्दै अब नहार्ने दावी गरे ।
“जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन, पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले भने, माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।” प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिते मात्र देशमा राजनीतिक स्थीरता दिने दावी गरेका छन् । संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डले बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति ईङ्गति गर्दै प्रचण्डले भने, “भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’ अहिलेको तरिकाले गरिवले चुनाव लड्न नसक्ने अवस्था आएका कारण चुनाव गर्ने तरिका नै वदल्नु पर्ने उनको भनाई छ । २००७ साल देखि विभिन्न परिवर्तनहरु हुँदै आएपनि खास राजनीतिक रुपमा परिवर्तन हुँने अन्तिम चरणमा पुगेको समेत दाहालले दावी गरे ।
संविधान निर्माण, कार्यान्वयन र स्थानिय तहको निर्वाचन निकै चुनौतिका बाबजुत सफल भएको बताएका प्रचण्डले अवको निर्वाचन भाड्न पनि प्रतिक्रियावादीहरु सकृय रहेको टिप्पणी गरेका छन् । परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुँन नदिन लागिपरेको उनको भनाई छ । यसैबीच, माओवादी केन्द्र प्रदेश नम्वर ६ को प्रशिक्षण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । प्रशिक्षणमा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिमा करिब ५०० सदस्य सहभागी भएका छन् । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्तिवहादुर बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालिबहादुर मल्ल, महेश्वर गहतराज लगायत सहभागी छन् ।


