सन २०२० सम्म पुरा गर्ने गरी चीनले ल्यायो यस्तो योजना…
बेइजिङ, ९ भदौ । चीन सरकारले आउँदो सन् २०२० सम्ममा देशभरीका झन्डै छ हजार गैर कानुनी कोइला खानी बन्द गर्ने भएको छ ।
कोइलाखानीका कामदारको सुरक्षालाई ध्यान दिँदै अवैध कोइलाखानी बन्द गराउन सन् २०१६ देखि नै सुरु गरिएको अधिकारीहरुले बताएका छन् । सन् २०१५ देखि यस्ता अवैध कोइलाखानीमा हुदै आएको १५ प्रतिशत दुर्घटना घटेर १० प्रतिशत भएको मजदुर सुरक्षासम्बन्धी प्रान्तीय कार्यालयले जनाएको छ ।
अवैध कोइलाखानीलाई नियन्त्रण गर्नका लागि संयुक्त अनुगमन गर्ने, सूचना प्रवाह गर्न एउटा छुट्टै संयन्त्र बनाउने, मजदुरहरुको सुरक्षाका मापदण्ड बनाउनेलगायतका कार्य गरिने भएको छ ।
कोइलाखानीमा उद्धार टोली पुनःगठन गर्ने र अनुसन्धानबाट प्राप्त विवरणलाई सार्वजनिक गरी सुधार गराउने कार्य पनि गर्ने अधिकारीले बताएका छन् । चीनले कार्यक्षेत्रमा हुने दुर्घटना न्युनिकरणका लागि निकै महत्व दिएको छ ।
गत जनवरीदेखि जुलाइसम्ममा २७ हजार ४७८ वटा दुर्घटना गएको अधिकारीले बताएका छन् । रासस-सिन्ह्वा


