भेडेटार स्थित थुम्कीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालन हुने
धनकुटा खबर, भदौ १५ । पर्यटकीय स्थल धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटार स्थित थुम्की भन्ने स्थानमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ ।

त्यस क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै भेडेटार भिलेज नामक रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो ।
जसअनुसार रिसोर्ट निर्माणको काम अहिले करिव अन्तिम चरणमा पुगेको छ । झण्डै दुई करोणको आर्थिक लागतमा निर्माण कार्य पूरा हुने भनिएको यो रिसोर्ट नेपालीहरुको महान चाड वडादशैको अवसरमा उद्घाटन गर्नेगरि काम भईरहेको रिसोर्ट सञ्चालक जितेन्द्र रुम्दाली राईले वताउनुभयो ।
सञ्चालक राईका अनुसार यो रिसोर्ट एक वसाईमा ५० जना सम्म वस्न सक्ने क्षमताको हुनेछ । र भावी दिनमा वृद्धी समेत गर्दै लाने उद्देश्य रहेको छ । रिसोर्ट क्षेत्रमा चिलड्रेपार्क, गार्डेन समेतको व्यवस्था हुने राईले जानकारी दिनुभयो ।
रिसोर्ट सञ्चालनमा आएपछि पर्यटकलाई सुविधा हुनुका साथै त्यस क्षेत्रको स्थानीय र अन्य पर्यटकीय स्थालहरुलाई समेत फाईदा हुने अपेक्षा गरिएको छ ।


