खोटाङमा ससुरालीमा गएर धारिलो हतियार प्रहार गर्दा श्रीमती सहित चार जना घाइते, एक जना पक्राउ
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राई पक्राउ परेका छन्।
प्रहरीका अनुसार राईले ससुरालीमा गएर धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमती अन्जना राईसहित चार जना घाइते भएका हुन्।
घाइतेमध्ये ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई र २५ वर्षीया तेनिना राईको अवस्था गम्भीर रहेको छ। अर्का घाइते नरेन्द्र राईको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको नगर अस्पताल दुर्छिममा उपचार भइरहेको छ। पक्राउ परेका नइन्द्रकुमार राईमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


