धनकुटा सिनेमा घरमा ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को भव्य प्रदर्शन
हिराराज राई, धनकुटा । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ धनकुटा सिनेमा घरमा प्रदर्शन भइरहेको छ।
दसैँको अवसर पारेर प्रदर्शनमा आएको ‘कबड्डी’ शृंखलाको पाँचौँ संस्करण कार्तिक ६ गतेदेखि देशभरका हलसँगै धनकुटामा पनि प्रदर्शन सुरु भएको हो। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रको अधिकांश छायांकन हिमाली जिल्ला मुस्ताङका मनमोहक प्राकृतिक दृश्यहरूमा गरिएको छ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ र माओत्से गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ।
यसपटक वीरकाजी अघिल्ला फिल्मभन्दा बढी परिपक्व, इमानदार र जिम्मेवार पात्रका रूपमा देखिन्छन्। नयाँ मैया पनि आफ्ना सपना र लक्ष्यप्रति स्पष्ट रहेकाले प्रेमसँगै आत्मनिर्णयलाई प्राथमिकता दिने चरित्रका रूपमा प्रस्तुत भएकी छन्। पुरानी मैयाको पुनरागमनले कथामा थप कौतूहल सिर्जना गर्दै पुराना सम्झनाहरूलाई पुनः जीवन्त बनाउँछ।
चलचित्रको अर्को बलियो पक्ष विपीन कार्कीले निभाएको खलपात्र छविराज साउको भूमिका हो। उनको स्वाभाविक अभिनय, हास्यपूर्ण संवाद र प्रभावशाली प्रस्तुतिले कथालाई थप मनोरञ्जक बनाएको छ। परिचित पात्रहरू, स्थानीय परिवेश र मौलिक संवादले ‘कबड्डी’ शृंखलाको स्थापित स्वादलाई निरन्तरता दिएका छन्।
अन्ततः वर्षौँदेखि प्रेमको खोजीमा भौतारिएका वीरकाजीको विवाह पनि हुन्छ। तर त्यो विवाह कसरी र कुन परिस्थितिमा सम्पन्न हुन्छ भन्ने रहस्य फिल्मले अन्तिमसम्म जोगाएर राखेको छ, जसले दर्शकको उत्सुकतालाई कायम राख्छ।
समग्रमा, ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ वीरकाजीको प्रेमयात्रालाई भावनात्मक र मनोरञ्जनपूर्ण निष्कर्षमा पुर्याउने सफल चलचित्र बनेको छ। मुस्ताङको आकर्षक परिवेश, नयाँ–पुराना पात्रहरूको पुनर्मिलन, विपीन कार्कीको प्रभावशाली अभिनय र अन्तिमसम्म कायम रहने कौतूहलका कारण यो चलचित्र दर्शकका लागि हेर्नलायक बनेको छ।


