संघीय संसद र सात वटै प्रदेश सभामा एमालेले बहुमत ल्याउछ : अध्यक्ष ओली

पोखरा, १६ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ द्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान, सत्तामा रहँदा आर्थिक समृद्धिका लागि गरिएको बजेट विनियोजनजस्ता कार्यक्रमले आफ्नो दलको विजय अभियानलाई अब कसैले रोक्न नसक्नेमा जोड दिनुभएको हो ।

प्रदेश नं– २ मा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिए पनि पहिलो पार्टी नै बन्ने दाबी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी पार्टीसँगको सहमतिबिना नै त्यस प्रदेशमा स्थानीय तहको संख्या बढाइएकोमा आपत्ति जनाउनुभयो ।

संघीय संसद् र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुनुपर्छ भन्ने पक्षमा एमाले रहँदारहदै पनि दुईचरणमा गर्न लागिएकामा विरोध जनाउँदै उहाँले भन्नुभयो– “ दुई चरणमा चुनाव गर्न खोज्नु धाँधलीको संकेत हो । ”

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले शान्तिपूर्ण तरिकाले धनुषामा पार्टीका नीति, कार्यक्रम र विचार कार्यकर्ता माझ राखिरहेको बेला राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले ढुंगामुढा गरेर उच्छृखलता देखाएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले नेकपा एमाले मुलुकको आर्थिक समृद्धि र विकास गर्ने अभियानमा लागेकाले यस पार्टीमा सामेल हुन सबै राष्ट्रप्रेमी जनतासँग आह्वान समेत गर्नुभयो ।

सोृही दलका सचिव पृथ्वीसुब्बा गुरुङले विकासको एजेण्डा बोकेको एक मात्र पार्टी एमालेलाई सबै तहका निर्वाचनमा जिताउन एकजुट हुनुपर्ने बेला आएको विचार व्यक्त गर्नुभयो ।

एमाले प्रदेश नं–४ का संयोजक एवं पूर्वमन्त्री किरण गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा ४० जना कार्यकर्ता अखण्ड पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।