वीरगन्ज महानगरपालिकामा टिकटको मारामार, टिकट नपाएपछि पार्टी छाड्ने बढे
वीरगन्ज, २० भदौ । पर्सामा उम्मेदवार बन्न पार्टी परित्याग गर्ने बढेका छन् । कतिपय दलका प्रभावशाली नेता अर्को दलमा प्रवेश गरी उम्मेदवार बनेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । वीरगन्जका पूर्वमेयर एवं राजपा नेता विमल श्रीवास्तवले वीरगन्ज महानगरपालिकाको मेयरको टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।

मेयरका आकांक्षी रहेका उनले टिकट नपाएपछि मंगलबार पत्रकार सम्मेलन गरेर फोरम लोकतान्त्रिक प्रवेश गरेको घोषणा गरे । राजपाले राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सिंहले केहिदिन अघि टिकट पाउनका लागि वीरगन्जमा शक्ति प्रदर्शनसमेत गरेका थिए । राजपाभित्र श्रीवास्तव र सिंहबीच टिकटका लागि रस्साकस्सी चलेको थियो । राजपाले मंगलबार उम्मेदवारको नाम सार्वजनिक गरेलगत्तै श्रीवास्तवले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेर फोरम लोकतान्त्रिक प्रवेश गरेको बताए ।
श्रीवास्तवसँगै राजपा नेता शशीकपुर मिया, जनार्दन यादवलगायत पनि फोरम लोकतान्त्रिक प्रवेश गरे । फोरम लोकतान्त्रिकमै रहेका शशीकपुर मियाले मधेस आन्दोलनको वेलामा पार्टी परित्याग गरेका थिए ।
पत्रकार सम्मेलनमा राजपाले गद्दारी गरेको श्रीवास्तवले आरोप लगाए । ‘राजपाले पैसाको प्रलोभनमा परेर मधेसको हितविपरीत काम गरेको छ,’ उनले भने, ‘त्यसैले साथीहरूको सल्लाहअनुसार पार्टी छाड्ने निर्णयमा पुगेको हुँ ।’
राजपा गठन हुनुअघि श्रीवास्तव तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय कोषाध्यक्ष र प्रवक्ता थिए । दोस्रो संविधानसभाको निर्वाचनमा श्रीवास्तव तमलोपाबाट र सिंह तत्कालीन रामसपाबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार भएका थिए । श्रीवास्तव दोस्रो र सिंह तेस्रो भएका थिए ।
उता एमालेबाट टिकट नपाएपछि अफरोज मन्सुरी राजपा प्रवेश गरेका छन् । मन्सुरीसँगै एमालेका पुराना नेता जितेन्द्र बिसी पनि राजपा प्रवेश गरे ।
कतिपय दलका असन्तुष्ट नेताले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । संघीय समाजवादी फोरमबाट पोखरियामा मेयरका आकांक्षी शंकर यादवले टिकट पाएनन् । उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । फोरमले पोखरियामा एमालेबाट पार्टी प्रवेश गरेका पूर्वसभासद प्रद्युम्न चौहानलाई मेयरको टिकट दिएको छ ।
यसैगरी, पोखरियामा राजपाबाट मेयर उम्मेदवारका आकांक्षी रहेका जोगानन्द चौहानले टिकट नपाएपछि माओवादी प्रवेश गरेका छन् । चौहानलाई माओवादी केन्द्रले मेयरको उम्मेदवार बनाउने स्रोतले जनाएको छ । राजपाले पोखरियामा नेता नेजाद्दिन समानीलाई मेयरमा उठाउने निर्णय गरेको छ ।
यस्तै, धोबिनी गाउँपालिकामा माओवादी केन्द्रका आलोकनाथ पाण्डेले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । नयाँ शक्तिबाट माओवादी प्रवेश गरेका योगेन्द्र साहले टिकट पाएपछि उनी स्वतन्त्र उम्मेदवार बन्ने भएका हुन् ।
उता विन्ध्यवासिनी गाउँपालिका अध्यक्षका आकांक्षी श्रीलाल मोदीले आफूले मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे पनि पार्टीले टिकट नदिएको बताए । ‘१५ दिनअघि पार्टी प्रवेश गरेकालाई पार्टी नेतृत्वले उम्मेदवारका रूपमा सिफारिस गरेको छ,’ उनले भने ‘पार्टीले मेरो योगदानको अवमूल्यन गरेको छ, अन्याय भएको छ ।
राजपालाई हराउने अभियानमा लागिन्छ अब ।’ राजपाले विन्ध्यवासिनीमा लक्ष्मणप्रसाद चौरसियालाई उम्मेदवार बनाएको छ ।
राजपाको पकड क्षेत्र रहेको पर्साको पकहा मैनपुर गाउँपालिकामा राजपाका युवा नेता तथा उम्मेदवारका आकांक्षी धामु शर्माले पार्टीले विभेद गरी नवप्रवेशीलाई उम्मेदवार बनाएको भन्दै असन्तुष्टि जनाए । राजपालाई असहयोग गरी अन्य मधेसी दललाई जिताउने उनले बताए । नयाँपत्रिकाबाट


