करिश्माको प्रश्न, – मैले पढ्न थाल्दैमा किन महाभारत ?

काठमाडौं : ‘म एमाले अध्यक्ष केपी शर्मा ओली जीको कदर गर्छु। उहाँको राजनीतिक चातुर्य र क्षमताको प्रशंसक पनि हुँ’, नायिका करिश्मा मानन्धरले भनिन्, ‘तर, उहाँलाई जनताले ८ कक्षा पढेको नेता भन्दा निको लाग्दैन।’ आजको अन्नपूर्णमा शिवराज योगीले लेखेका छन्।

नयाँ शक्ति पार्टीको राजनीतिमा सक्रिय नायिका करिश्माले सोमबारको कार्यक्रममा आफू ९ कक्षा पढ्न थालेको प्रसंग सुनाएपछि यो खबर मिडियामा ‘भाइरल’ बन्यो, उनले भनिन्, ‘मैले पढ्न थालेर के महाभारत भयो र रु पढ्ने, लेख्ने र सिक्ने कुरा जहिले, जसले सिक्दा पनि त हुन्छ नि ?’

०४२ सालमा ‘सन्तान’ चलचित्रबाट नायिकाका रूपमा देखिएकी करिश्माले त्यसबेला पढ्ने फुर्सद नै पाइनन्। कलकलाउँदो उमेरकी उनलाई कलाकारितामै भ्याइनभ्याइ भयो। ‘७ कक्षा पढ्दापढ्दै कला क्षेत्रमा लागेँ, नभ्याएपछि पढाइ छाडेँ’, उनले भनिन्, ‘यौवनावस्थामा थिएँ, कलाकारितामा डिमान्ड हुने बेला नै त्यही हो, त्यसबेला कला बेच्नमै फुर्सद भएन।’

त्यसो त करिश्मा यतिबेला पनि फुर्सदिली छैनन्। तीन दशकभन्दा लामो कलायात्राले आर्जेको उनको ‘नेम र फेम’ आज पनि ‘डिमान्ड’ मा छ। नयाँ शक्तिको जन्मसँगै सुरु गरेको राजनीतिक जिम्मेवारीमा पनि उनी सक्रिय छिन्। सँगै उनले नयाँ प्रोजेक्टमा काम गरिरहेकी छन्।

चलचित्र निर्मातासम्मको भूमिका पूरा गरेकी उनी लामो समय अमेरिकामा पनि बसिन्। २२ वर्षकै उमेरमा गोरखा दक्षिणबाहुले सम्मानित भइन्। ‘हुनेखाने श्रीमान् भएकैले आजसम्म पाएका अवार्ड, सम्मान र प्रशंसापत्र सँगालेर राखेकी छु’, करिश्माले भनिन्, ‘तर ती अवार्डभन्दा पनि पढाइको आफ्नै महत्व हुँदो रहेछ। त्यसैले पढ्नुपर्छ भन्ने लाग्यो र पढ्न थालेँ।’

०७२ सालको नाकाबन्दीयता आफूलाई अब्बल राष्ट्रवादीका रूपमा स्थापित गराएका एमाले अध्यक्ष केपी ओलीको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘ओलीले विभिन्न राजनीतिक आरोप, आक्षेप, वितृष्णा खेप्नुभयो। तर, नाकाबन्दीयता उहाँ नै सबैको नजरमा राष्ट्रवादी हुनुहुन्छ। यो क्षमता, योग्यता र विद्या कुनै युनिभर्सिटीमा पाइँदैन। तर, जनताले ‘८ कक्षा पढेको नेता’ भन्न छाड्दैनन्।’ उनले आफ्नो ज्ञानको दायरा, योग्यता र सकारात्मक सामाजिक सन्देशका लागि विद्यालय भर्ना भएको पनि बताइन्।

गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलबाट ८ कक्षा पास गरेकी उनी यस वर्ष काठमाडौंको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलमा ९ कक्षामा भर्ना भएकी हुन्। विभिन्न जिम्मेवारी, राजनीति, कला र निजी प्रोजेक्टको काममा व्यस्त हुँदा उनी हरेक दिन विद्यालय जान भ्याउँदिनन्। ‘म ५० प्रतिशतजति हाजिर हुने कोसिसमा छु’, करिश्माले भनिन्, ‘तर, विद्यालय गएको दिन अनुशासित विद्यार्थी भएर पूरा दिन पढ्छु।’ विद्यालयका लागि उनी बिहान साढे ७ बजे गोदावरीस्थित घरबाट निस्कन्छिन्। ९ बजे विद्यालय पुग्छिन्।

‘मनैदेखि चाह्यो भने टाढा नजिक, बालक वृद्धा केही हुँदैन’, उनले भनिन्, ‘योङ अवस्थामा कला बिक्थ्यो, अब योग्यताको जरुरत छ, म त्यतै लागेँ।’यौवनावस्थामा कमाएको चर्चा, दर्जनौं चलचित्रको सफलता, आजसम्म पाइएको स्थानभन्दा आफूभित्रको योग्यता र ज्ञानको निकै महत्व हुने उनको बुझाइ छ। राजनीतिमा अझै पाँच वर्ष कुनै लाभको पद नलिने उनको योजना छ। ‘मैले जनताबीच रहेर काम गर्ने हो’, करिश्माले भनिन्, ‘त्यसका लागि पद किन चाहियो रु ‘

पढ्नमा निकै अरुचिको विषय उनका लागि अप्सनल म्याथ हो। ‘अप्सनल म्याथ निकै गाह्रो, पढ्न झ्याउलाग्दो हुन्छ’, उनले भनिन्, ‘पढ्दा पढौंपढौं लाग्ने पपुलेसन एन्ड इन्भारोमेन्ट एजुकेसन हो। यो विषय मलाई जति पढ्यो झन् पढौं लाग्छ।’

नायिका करिश्मा आफ्नो पढाइलाई लिएर मिडियाले हल्का प्रचार गरेकोमा भने धेरै खुसी छैनन्। ‘किन यो प्रचारको विषय बनाउनुपर्‍यो, अनेक मान्छेले अनेक उमेरमा पढ्ने-लेख्ने काम गर्छन्, गर्न सक्छन्। यो त राम्रो कुरा हो नि १ पढ्न लेख्नलाई पनि उमेर चाहिन्छ र रु करिश्माले पढ्दैमा आश्चर्यजस्तो किन बनाउनु र?



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।