धनकुटा डाडाबजारमा रहेको ध्वजेडाडा सामुदायिक सिकाई केन्द्रले पुस्तकालय सञ्चालन गर्ने
धनकुटा खबर, २२ भाद्र । सागुरीगढि गाउँपालिका स्थित डाडाबजारमा रहेको ध्वजेडाडा सामुदायिक सिकाई केन्द्रले पुस्तकालय सञ्चालन गर्ने भएको छ । यस आर्थिक वर्ष देखि पुस्तकालय सञ्चालन गर्ने तयारी भएको सिकाई केन्द्रले जनाएको छ ।

सिकाई केन्द्रको बार्षिक साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा दिईएको जानकारी अनुसार हाल ६ सय भन्दा वढि पुस्तक सिकाई केन्द्रमा रहेकाले पुस्तकालय सञ्चालन गर्ने लागिएको हो । बार्षिक साधारणसभाको अवसरमा सामाजिक कार्यमा उत्कृष्ठ भएको भन्दै सिकाई केन्द्र अन्र्तगत गठन भएको सयपत्री नवसाक्षर समुह आख्रेलाई पुरस्कृत गरिएको छ ।
समुहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । सिकाई केन्द्रका अध्यक्ष धुव्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा १ लाख ८६ हजार बरावरको आय व्याय विवरण प्रस्तुत गरिएको छ । बार्षिक साधारणसभाको उद्घाटन भानु मावि डाडाबजारका पुर्व प्रध्यानाध्यापक कृष्णवहादुर ब्लोनले गर्नुभएको छ ।
सो अवसरमा भानु माविका प्रध्यानाध्यापक यज्ञवहादुर लिम्वु,लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । ध्वजेडाडा सामुदायिक सिकाई केन्द्रले गत वर्ष ६० जनालाई निरन्तर शिक्षा प्रदान गरेको छ ।
सिकाई केन्द्र अन्र्तगत २० वटा नवसाक्षर समुह गठन भएका छन् भने प्रत्येक समुहलाई १० हजार रुपैयाका दरले विउँपुजी प्रदान गरिएको छ । उक्त सिकाई केन्द्र दुई वर्ष अघि पुर्वाञ्चल प्रथम भएको छ भने गत बर्ष जिल्ला प्रथम भएर पुरस्कृत भएको छ ।
२०६९ सालमा स्थापना गरिएको सिकाई केन्द्रमा विद्यालयका विद्यार्थी,शिक्षक,अभिभावक,कर्मचारी लगायत गाविसका विभिन्न वडाका वासिन्दा समेत पत्रपत्रिका र पुस्तकहरु अध्ययनका लागी आउने गरेको पाईएको छ ।
बार्षिक साधारणसभामा स्वागत मन्तव्य सदस्य शान्ति रसाईलीले राख्नुभएको थियो भने सञ्चालन सदस्य भवानी घिमिरेले गर्नुभएको थियो ।


