नेपालमा पहिलोपटक सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

काठमाडौँ, २३ भदौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ ।

मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भन्नुभयो, “नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।”

चार मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप रु ८० करोड लगानी गरिने मुरारकाले जानकारी दिनुभयो । सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट सामान ल्याउने प्रक्रिया शुरु गरिएको र आगामी सात महिनाभित्र विद्युत् उत्पादन शुरु हुने उहाँले बताउनुभयो ।

नेपालको हकमा खेर गएको तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गर्न लागिएको नै पहिलोपटक हो भन्दै उहाँले निर्माणाधीन अन्य सिमेन्ट उद्योगलाई समेत यसबाट थप प्रेरणा प्राप्त हुने बताउनुभयो । विद्युत् उत्पादनमा प्रयोग हुने सामान खरिदका लागि एलसी खोलिएको जानकारी दिँदै मुरारकाले आफ्नो उद्योगलाई चाहिने विद्युत्मध्ये केही आफैँ उत्पादन गर्ने रणनीतिमा आफू लागेको बताउनुभयो ।

अहिले उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको र वातावरण समेत प्रदूषित भइरहेको छ । विद्युत् उत्पादन गर्ने प्रणाली जडान भएपछि वातावरणीयरुपमा कुनै समस्या नआउने उहाँले दाबी गर्नुभयो । चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प (स्टिम) प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको मुरारकाले बताउनुभयो ।

चीनमा वाष्प प्रविधिबाट ठूलो मात्रामा बिजुली उत्पादन गरिएको छ । उद्योगबाट निस्किएको तातो हावाले ‘स्टिम इन्जिन’ चलाउने र त्यसरी घुमेको इन्जिनले विद्युत् उत्पादन गर्ने प्रणालीलाई ‘वेस्ट हिट रिकभरी युनिट’ नाम दिइएको छ ।

नेपालमा हालसम्म यस्तो प्रविधिबाट विद्युत् उत्पादन गरिएको छैन । दोलखाको चर्नावती र पर्वतको मोदी हाइड्रो पावरमा लगानी गर्नुभएका मुरारकाले भन्नुभयो, “यस्तो पाइलटिङ सफल भयो भने नेपालका अधिकांश सिमेन्ट उद्योगमा सहजैरुपमा विद्युत् उत्पादन हुने र त्यसले व्यावसायिक रुप लिनेछ ।”

उद्योगले हाल नेपाल विद्युत् प्राधिकरणबाट १० मेगावाट बिजुली खपत गर्दै आएको छ । उद्योगको क्षमता विस्तार गरेर दैनिक तीन हजार ५०० मेट्रिक टन उत्पादन पु¥याउने लक्ष्य राखिएकाले थप १० मेगावाट विद्युत् आवश्यक पर्ने उहाँको भनाइ छ । उक्त प्रणालीको जडानपछि उद्योगले १६ मेगावाट मात्रै विद्युत् खपत गर्नेछ ।

नेपालमा जगदम्बा, मारुती, शिवम्जस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वको उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिन्छ । सरकारले थर्मल ऊर्जा प्रणालीबाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गरेको भए पनि खेर गएको हावाबाट विद्युत् उत्पादन गर्ने प्रणाली पहिलोपटक शुरु हुन लागेको हो ।

पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको घरिवल सिमेन्ट उद्योगले २० मेगावाट विद्युत् सोही प्रणालीबाट उत्पादन गरिरहेको छ । पाकिस्तानकै लक्की सिमेन्ट उद्योगमा समेत १० मेगावाट विद्युत् उत्पादन गरिएको छ । भारतको तेलङ्गनाको सागर सिमेन्ट उद्योगले छ मेगावाट विद्युत् उत्पादन गर्ने अन्तिम तयारी गरेको छ । फिलिपिन्सको सिमेक्स सिमेन्ट उद्योगमा समेत चिनियाँ प्रविधि जडान गरी ४.५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको छ भने इन्डोनेसियाका सिमेन्ट उद्योगमा वेस्ट हिट रिकभरी युनिट जडान गरी ३० मेगावाट विद्युत् उत्पादन गर्ने प्रणाली जडान गरिएको छ ।

पाकिस्तानको राष्ट्रिय विद्युत् नियमन प्राधिकरणले वेस्ट हिट रिकभरी युनिट स्थापना गर्न र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ ।

सिमेन्ट उद्योगले फाल्ने हानिकारक कार्बन डाइअक्साइड नियन्त्रण गर्न र वातावरणको संरक्षण गर्न समेत यस्तो प्रणाली संसारभर फैलने क्रममा रहेको ग्लोबल सिमेन्टले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖