“कुवेतमा साहुनीले मारेर फाल्दिन्छु भन्दा म छोरा सम्झेर रुन्थें”
सुनसरीको बक्लौरीकी गीता गुरुङलाई साविकको बक्लौरी गाविसका सबैले चिन्छन् । तर सकारात्मक होइन नकारात्मक विचारले । धेरैले उहाँलाई अरु काम नपाएर सबैको घर घर चाहार्ने केटी भनेर पनि चिन्छन् । तर गाउँलेले भने जस्तो उहाँ काम नपाएर गाउँ चहार्ने केटी होइन् । गाविस भरिका मान्छेलाई वैदेशिक रोजगारीका बारेमा चेतना दिने जागिर हो गिताको ।
गितालाई त्यसो भन्नुमा अर्को कारण पनि छ । सीप नसिकी विदेश जान लागेका, दलालको फन्दामा पर्न लागेका धेरैलाई उहाँले त्यसबाट बचाउनुभएको छ । त्यसैले विदेश जान ठिक्क परेकालाई अनेक कुरा सिकाउने, भड्काउने भनेर पनि उहाँलाई काम नभएकी भन्ने गरेका हुन ।
गाउँलेले यसो भन्दा गीतालाई १० वर्ष अगाडिको कुरा याद आउँछ । अनि कल्पना गर्नुहुन्छ, ‘मलाई पनि त्यो बेलामा यस्तै काम नभएका मान्छेले विदेशको बारेमा बताइदिएको भए ।’
गीताको दिमागमा कुवेत र युएईमा पाएको दुःखका कुरा अनि सुखको काम पाउँदा स्वास्थ्यले साथ नदिएको पल झलझल्ति आँखामा आउँछ । तर अहिले दलालको फन्दामा फसेर विदेश नजानु भनेर आफूले पाएका दुःख सुनाउँदा पनि वास्ता नगर्दा चाहिँ गीतालाई दिक्क लाग्छ ।
कुरा १० वर्ष अघिको हो । गीता भर्खर २० वर्ष मात्रै लाग्नुभएको थियो । तर यी २० वर्षमा गीताले भोगेका दुःखका हिसाव गरिसाध्ये छैन । १० वर्षको उमेरमा मागी विवाह गरेकी गीता १७ वर्षको हुँदा आमा हुनुभयो । उहाँको छोरो जन्मियो । तर सानै उमेरमा दुलही बनेकी गीताको सम्बन्ध धेरै टिकेन ।
श्रीमानसँग सम्बन्ध बिग्रिएपछि गीता माइतमा बस्न थाल्नुभयो । काखे छोरा स्याहार्न आमाको साथ पाउनुभयो गीताले । तर पनि सानै उमेरमा बिहे हुनु अनि छोटो समयमै श्रीमानसँग सम्वन्ध बिग्रिनुको पीडाले उहाँलाई गलायो ।
त्यो बेलामा औषधी बन्यो विदेशमा रहेका साथीका कुरा । विदेशमा हुने साथीहरुले गीतालाई विदेश आए पीडा कम हुन्छ, अर्कै हुन्छ भन्दै अनेक कुरा सुनाए । साथीका कुरा सुनेपछि उहाँ पासपोर्ट बनाएर कुवेत उड्नुभयो ।
ठूलो जहाजको पेटभित्रबाट निस्केर ओमानमा पाइला टेक्दा विदेश उहाँले सोचेभन्दा पनि राम्रो र सुखी देखियो । तर एयपोर्टकै नजिकको घरमा काम सुरु गरेपछि कहाँ सोचेजस्तो भयो र । ‘न काम आउने, न भाषा बुझिने । विदेशमा पनि क्षमता अनुसारको इज्जत पाइने रैछ । भाडा पनि राम्रोसँग बोल्न नजान्दा गाली कति खाइयो,’ विदेश सम्झेपछि गीता सुँकसुँकाउनुभयो ।
एकातिर काखेछोरा छाडेर जाँदाको पीडा अर्को तिर साहुसाहुनीको गाली र समयमा खान पनि नपाउँदा गीतालाइ मरे कै जुनी लाग्थ्यो ।
गीता सुत्ने कोठाको झ्यालबाट विमानस्थलका सबै दृश्य देखिन्थ्यो । विमान अवतरण गर्दा अनी उड्दा गीता प्लेन हेरेर रुनुहुन्थ्यो । ‘साहुनीले मारेर नालीमा फाल्दिन्छु तेरो बुवाआमाले देख्दैन भन्थी । मत छोरा सम्झेर रुन्थें,’ गीताले साहुनीका गाली सम्झिनुभयो ।
गीता कि त रुनु हुन्थ्यो कि त हास्नुहुन्थ्यो । भाषा नजान्दा उहाँले साहुका अनौठो व्यवहार सहनु पर्यो । ‘गाली गर्दा नि म त हाँस्थें । मलाई हाँसेको देखेर त बौलाएकी होस भन्दा रैछन,’ गीता साहुको घर सम्झनुहुन्छ,‘वासिङ मेसिन, भ्याकुम क्लिनर चलाउन पनि नआउने । काम बिगारेको दिन खान पनि दिँदैनथ्ये ।’
‘काम नजान्नु त आफ्नै गल्ती हो । जाने बेलामा फारम भर्दा घरको काम सबै जानेको छ भनेर भरेको हुँदो रै छ । अनी त गाली गर्ने । धेरै गाली गर्ने कस्तो कस्तो व्यवहार गरेपछि मेरो त साहुनीसँग झगडा प¥यो,’ गिताले त्यसपछि घर परिवर्तन गर्नुभयो ।
….
साहुनीसँग झगडा परेपछि गीतालाई दलालकोमा पु¥याइदिइएका थिए । त्यहीँ अर्का साहु कामदार खोज्न आए । गिता सम्झनुहुन्छ, ‘ जो मोटो छ, जो राम्रो छ त्यसलाई लाने । खसी बोका छाने झैं मलाई पनि छाने ।’ अघिल्लो घरमा राएरै बिताएकी गिताले नयाँ घरमा सुखको श्वास फेर्न पाउनुभयो ।
साहु डाक्टर थिए । साहुनी चाहिँ होस्टल चलाउँथिन् । गीताको काम उनीहरुका दुई जना बच्चाको बिहान बेलुका स्याहारसुसार गर्नु थियो । गीता उनीहरुलाई पढ्न पनि सिकाउनुहुन्थ्यो । त्यसरी पढाएको देखेपछि गीतालाई साहुनीले होस्टलमै बालबालिकाको हेरबिचारका लागि लगिन् ।
गितालाई अहिले ती दिन सम्झँदा ती साहुसाहुनी भगवान जस्तै लाग्छन् । ‘मलाई त भगवान नै लिन आएछन् । नत्र त मेरो के हाल हुन्थ्यो होला,’ गिताका आँखाबाट आँसु झरे ।
५० दिनार दिने सहमतिमा लगेका घर साहुले उहाँको तलब बढाएर एक सय १० दिनार पु¥याइदिए । तर त्यतिबेला उहाँलाई स्वास्थ्यले साथ दिएन् । केही समयपछि उहाँको घाँटी दुख्यो । उपचारमा धेरै खर्च गर्नुभयो ।
साहुसाहुनीले पनि उहाँको उपचारमा निकै रकम खर्च गरे तर निको भएन । साहुले घर पठाउन मानेका थिएनन् । घाँटीमा निकै समस्या आएपछि उहाँ कुवेतबाट १८ महिनामा घर फर्कनुभयो ।
घर फर्किएर उपचार गर्नुभयो । फर्किएको एक वर्षसम्म पनि उहाँलाई कुवेतबाट साहुले कामका लागि बोलाएका थिए । तर उहाँ कुवेत फर्किनु भएन । त्यसको दुई वर्षपछि युएई जानुभयो ।
युएई जाँदा गीताले ८० हजार रुपैयाँ बुझाउनुपर्यो दलाललाई । तर काम भनेको जस्तो परेन । फेरि पनि उहाँलाई स्वस्थ्यले साथ दिएन । सबैतिरबाट राम्रो नभएपछि उहाँ युएईबाट पनि फर्कनुभयो ।
गीताले पहिले नजानेर लहैलहैमा विदेश पुग्दा दुःख पाउनुभयो । दोस्रो पटक बुझेर जाँदा पनि भनेको जस्तो काम भएन । त्यसमाथि परदेशमा स्वास्थ्यले साथ दिएन । हिजोआज गीता आफ्नै गाउँमा त्यही अनुभव सुनाउने जागिर गर्नुहुन्छ ।
सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगत उहाँले सुनसरीको बक्लोरी गाविसमा रिर्टनी भोलेन्टियरको रुपमा काम गर्नुभयो दुई महिना अघिसम्म । गाविसका प्रत्येक घरमा पुगेर वैदेशिक रोजगारीका बारेमा जानकारी दिनुहुन्थ्यो ।
गीताको भविष्यको योजना पनि समाज सेवा गर्ने नै छ । परदेशमा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उहाँको सपना छ । – सन्जिता देवकोटा/ उज्यालो।
https://youtu.be/Djyj66pvEnw


