‘चियापसल मा देउवाको उधारो’

त्रिवि कीर्तिपुर एमबीएस विभागको अर्कोतिर एउटा पुरानो चिया क्यान्टिन छ । जहाँ भुँइमै बसेर चिया उमालिरहेका एक वृद्ध देखिन्छन् । तिनी हुन् नीकाजी विष्ट। त्रिवि त स्थापना भयो। तर, त्यहाँ कार्यरत प्र्राध्यापक, कर्मचारी र पढ्ने विद्यार्थी चिया खान बल्खु चोक नै पुग्नुपर्ने बाध्यता थियो । त्यो सुविधा हटाउन तत्कालीन भीसी त्रैलोक्यनाथ उप्रेतीले नानीकाजीलाई त्यो ठाउँ उपलब्ध गराए । नानीकाजी १६ वर्षको उमेरमै त्रिविमा चिया पसले बने । ‘मैले पैसा कमाउन यो काम शुरु गरेको थिइनँ,’ उनले आफू चिया पसले हुुनुको कथा जोडे, ‘त्यत्रो विद्वानले हामीलाई चिया, चुरोट खान असुविधा भयो, तिमीले गर्नुपर्‍यो भनेपछि सेवाभावले शुरु गरेको हुँ ।’ २०२१ सालमा नानीकाजीले १० पैसामा बेचेको चियाको मूल्य आज २० रुपैयाँमा उक्लिएको छ । १८ पैसामा बेचेको क्याबेन, पाँच पैसामा बेचेको पाइनामा चुरोट नेपाली बजारमा नभए पनि अहिले त्यस्तै चुरोटको खिल्ली १५ रुपैयाँ भइसकेको छ ।

‘जमाना त कहाँबाट कहाँ पुग्यो पुग्यो, तर देश जहाँको त्यहीँ,’ उनले राजनीतिप्रति असन्तुष्टि जनाए । सामान्य सडकमा हिँड्नेले पनि राजनीतिमा चासो राख्छ, राख्नुपर्छ । नानीकाजीले नराख्ने झन् कुरै भएन । किनकि, उनको आँगनमै अहिले देश हाँकिरहेका सयौं नेता उदाए । ‘दीपेन्द्र सरकार गार्डसहित पढ्न आउँथे,’ अघिल्तिरको सडक देखाउँदै उनले भने, ‘ऊ पर गाडी रोकिन्थ्यो, म नमस्कार गर्थेँ, उनी पनि नमस्कार फर्काउँथे ।’ अन्य नेता त बहुदल आउने क्रममा मौलाएको उनले देखेका छन् । ‘पढेरभन्दा परेर बढ्ता जानिन्छ’ भन्ने मान्यताका उनी गतिलो उदाहरण लाग्छन् ।

कीर्तिपुरका रैथाने भए पनि उनले पढेका छैनन् । तर, उनको चिया आँगनमा बसेर देशमा यसो गर्छौँ, उसो गर्छौँ भन्नेहरू मन्त्री, प्रधानमन्त्री हुँदा पनि नगरेको देख्दा भने उनलाई विरक्त जाग्छ । ‘त्यही भएर त होला ५० सालमा संसारकै नेता मै हुँ भन्दै हिँडेँ,’ उनी फिस्स हाँसे । मानसिक अवस्थाको असन्तुलनबाट उनलाई त्यसवेला पाटन अस्पतालमा कार्यरत डा. धु्रवमान श्रेष्ठले निको बनाए ।

चिया पसलमा बसेर देशमा यसो गर्छौँ, उसो गर्छौँ भन्नेहरू मन्त्री, प्रधानमन्त्री हुँदा पनि केही नगरेको देख्दा नानीकाजीलाई विरक्‍त लाग्छ।

नानीकाजीले व्यापार बढाउनेतिर कहिल्यै सोचेनन् । ‘हामी यहीँ जन्म्यौँ, यहीँ हुक्यौँ । कतैबाट आएर जसरी पनि कमाउनु छ भन्ने मलाई परेन,’ नानीकाजीले भने, ‘यसैबाट घर चल्यो, बालबच्चा पढाएँ, अरू किन चाहियो र !’ नानीकाजी आना, पैसा हिसाब गरेर पनि बसेनन् । त्यसैले पनि उनकोमा धेरै नेताहरूले खाएको उधारो तिर्न अझै बाँकी छ । नानीकाजीकहाँ प्रधानमन्त्री शेरबहादुर देउवा विद्यार्थी नेता हुँदा सधैं चिया खान आउँथे । तत्कालीन राजकुमार दीपेन्द्रले उनको पसलबाट चुरोट मगाउँथे । पीएल सिंह, बालकृष्ण खाँडहरू उनकोमै चिया पिउँथे । तीमध्ये देउवा र पीएल सिंहले उनलाई तिर्न बाँकी हिसाब पनि थियो । एकदिन देउवाका शुभचिन्तक आएर तिरेर गए । तर, पीएल सिंहको उधारो अझै रहेको उनी बताउँछन् ।

उनले यही चियापसलबाट चार छोरी र एक छोरालाई उच्च शिक्षा दिए । पुख्र्यौली घर भने चार आनामा बेचेर बनाए । बाँकी लागेको ऋण चिया बेचेरै तिरे । ०२५ सालमा विमला कुँवरसँग विवाह गरेका उनले जीवनप्रति कहिल्यै गनासो गरेनन् । चिया बेचेको पैसाबाटै उनले जेठी छोरी लक्ष्मीलाई नर्स बनाए । उनी बाबुआमा पाल्छु भनेर अविवाहित बसेकी छन् । माइली विष्णु डिग्री सकेर नगरपालिकामा जागिरे छिन् । साइली सीताले एसएलसीपछि पढ्न खोजिनन् । कान्छी दुर्गा डिग्री सकेर बैंकमा जागिरे छिन् भने छोरा प्रिजल कम्प्युटर इन्जिनियर छन् ।

‘परिवार त राम्रै छ,’ नानीकाजीले भने, ‘यही आँगनमा जन्मेहुर्केका नेताहरूले देश राम्रो पो कहिले बनाउने हुन् ।’ नेताहरूले राम्रो नगरेकै कारण पटक–पटक व्यवस्था फेरिने गरेको उनको ठम्याइ छ । ‘हिजो भुइँबाट उठेकाहरू पनि सत्तामा पुगेपछि धर्म बिर्सन्छन्,’ उनले भने, ‘नेताले धर्म नबिर्सने हो भने, यो सानो सुन्दर देशलाई सम्पन्न बनाउन कति दिन लाग्छ र ?’

– शिवराज योगी / टुडे अन्नपूर्ण पोष्ट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।