‘बाँदर जस्तै अदुवा’
धनकुटा खबर । ‘तल बाँदरले खाई सक्यो होला ?’ यो हिच्किचाहट धनकुटा माथिल्लो खाल्डकी खिमा थापाको हो । एक छिन कुरा गरौन भन्ने प्रस्तावमा उनले गफगर्ने एक छिन पनि फूर्सद छैन भन्ने आसयमा ब्यक्त गरेको शब्द हो ।
अहिले उक्त गाउँका सबै महिमलाहरुलाई थापालाई जस्तै हतारो छ । पुरुषहरु अन्य काममा जाने, बालबालिकाहरु बिद्यालय गएपछि अहिले धनकुटा नगरपालिका ६ माथिल्लो खाल्डे र वारी पात्ले ३ का महिला र जेष्ठ नागरीकहरुलाई यस्तै हतारो छ ।
शिलढुंगा सामुदायिक वन संग जोडिएको खाल्डे गाउँ र पात्ले सामुदायिक वन संगै जोडिएको वारी पात्ले गाउँ अत्याधिक बाँदर लाग्ने ठाउँ हो । जसको लागि धनकुटा नगरपालिकाले यो बर्ष बाँदर समात्नका लागि बजेट समेत छुट्याएको छ ।

बाँदरका कारण उक्त गाउँमा कुनै अन्नबाली जोगाउन गाह्रो भएपछि उनीहरुले बिकल्पमा अदुवा,अमृसो र फलफल खेती रोजेका थिए । तर फलफुल कलिलैमा नष्ट गरिदिने र अमृसो समेत फुल लाग्ने बेलामा टुसा निकालेर नष्ट गरेपछि उनीहरु संग एक मात्र बिकल्प अदुवा खेती बाँकी रहेको थियो ।
फलस्वरुप २०६५ साल यता माथिल्लो खाल्डे स्थित सितल देवी टोलबस्ती संगठनका २५ घर र वारीपात्ले स्थित डाँडाबारी टोलबस्तिका ५४ घरले अदुवा पेशालाई मुख्य पेशाका रुपमा अंगालेका थिए ।
बाँदरले नखाने एक मात्र बस्तु अदुवा भएकोले सम्पूर्ण गाउँलेहरुले उक्त पेशा अंगालेको वारीपात्लेका अगुवा कृषक कृष्ण कार्की बताउनु हुन्छ ।
६५ सालमा अदुवाको मूल्य प्रतिकेजी ६० देखि ७० हुंदै २०७० साल सम्म १ सय १० सम्म पुगेको थियो । तर त्यसपछिका बर्षहरुमा भने अदुवाको मूल्यमा गिरावट आए संगै किसानहरु पुनः पुरानै खेतीपातिको पेशामा फर्किन बाध्य भएका छन् ।
अर्थात् अदुवाले मात्र जीवन निर्वाह नभएपछि अन्य खेती गरेर अहिले ३८ बर्षिया थापा र ५१ बर्षिया कार्की लगाएत गाउँलेहरुको दैनिकी उहि पुनः बाँदर रुँघ्ने भएको हो ।
पूर्ण रुपमा अदुवा खेती तिर लाग्ने बेलामा अचानक आएको मूल्य गिरावटका कारण अहिले ती २ गाउँका कृषकहरु आधा अदुवा र आधा अन्य बाली लगाउने गरेका छन् ।
मूल्यमा गिरावट आएपछि खाल्डेकी थापाले त यो पटकबाट अदुवाको बिउ नै नराखेको बताईन् । ‘भाउ मात्र नपाए त रोप्नु हुन्थ्यो ?!’उनले भनिन्–‘रोगले सबै अदुवा कुहिए पछि अर्को बर्ष नरोप्ने भनेको अब ।’
२०७१ सालमा प्रतिकेजी १ सय सम्म भएर पुरानो माउ र नयाँ बेच्दा डबल फाईदा हुने भएकाले थापाले १ रोपनीबाट ४ रोपनीमा अदुवा लगाएका थिए ।

उत्पादनको क्षेत्र अझैं बढाउने योजना भएपनि गत बर्ष प्रतिकजी अदुवाको मूल्य ३० रुपैंया र यो बर्ष २० रुपैंयामा झरेपछि अब अदुवा नरोप्ने निर्णयमा पुगेको थापाले बताए ।
‘बाँदर र अदुवाले दिएको दुखः उस्तै भयो’–थापाले दुखेसो गरिन् । अब के पेशा अंगाल्नु हुन्छ त प्रश्नमा थापा भन्छिन्–‘खै के गर्ने के ? सब्जी लगाउँ पानी पनि छैन ।’
सोही गाउँकी संगिता राई(रम्तेल) को पनि अदुवा लाउने मन मरेको छ । उनले यो पटक लगाएको अदुवा आधा खनेर बाँकी त्यसै छाडेको छ ।
यो बर्ष भूल्य बढ्छकी भनेर लगाए पनि पुनः उस्तै भएपछि बिउका रुपमा लगाएको अदुवा आधा मात्र खनेर छाडेको बताए ।
‘बाँदरले कहि खान दिंदैन’ उनले भनिन्, ‘भाउ बढ्छकी भनेर बिउ जोगाएर कति बस्नु ।’ मूल्य गिरावट संगै रोगका कारण मूल्य बढ्ने पर्खाईमा बसेका उक्त गाउँका सबै किसानहरु चिन्तामा परेको उनको भनाई छ ।
उता अगुवा कृषक कार्कीले पनि मूल्यमा कमि आएपछि १३ रोपनी खेतीबाट हाल आधा रोपनी जमिनमा बिउ जोगाएर बसेको बताए ।
‘बाँदर र अदुवा उस्तै भए’ उनले भने, ‘बाँदरले केहि खान नदिएर पिर अदुवाले कहिले भाउ आउँछ भन्ने पर्खाएको पिर !’
उनले २०७१ साल सम्म १३ रोपनीमा २२ क्वीनटन अदुवा रोपेर बार्षिक २९ लाख ७० हजार को अदुवा बेचेर १५ लाख भन्दा बढी कमाई गर्ने गर्दर्थे ।
उक्त समयमा ४४ हजार केजी अदुवा प्रति केजी ८० देखि ९० रुपैंया सम्म बिक्री भएपनि त्यसपछिका बर्ष सम्म प्रति केजी २० रुपैंयामा पनि नबिकेपछि उनले बिउका लागि मात्र अदुवा रोपेर बसेको बताए ।
५ सय भन्दा कममा मजदुर नपाउने र खनजोत गर्नेलाई १ हजार का दरले दिनै पर्ने बाध्यता रहेकोले अदुवाको कम मूल्य हुंदा ब्यबसाय गर्न नसक्दा गाउँकै अदुवा खेती प्भावित भएको उनको भनाई छ ।
‘महंगोमा कामदार लगाएर २० रुपैंया केजी अदुवा बेचेर फाईदा नभएपछिे सबै गाउँलेहरुले उत्पादन घटाएका छन्’–कार्कीले बताए ।
सोही गाउँका ५१ बर्षिया निल बहादुर कार्कीले रोपनीमा अदुवा लगाएर ३ लाखको कारोबार गरेर २ लाख सम्म कमाउने गर्दथे । तर त्यसपछि आएको मूल्य गिरावटका कारण अदुवा ब्यबसायबाट फाईदा नहुने भएपछि उनले पनि १ रोपनीमा मात्र अदुवा लगाएको बताए ।
अदुवा भन्दा अरु बाली लगाउँदा बाँदर रुँघ्नै नसक्ने भएकाले अदुवाको मूल्य बृद्धि हुने आशामा अदुवाको बिउ मात्र जोगाएर बसेको उनको पनि भनाई छ ।
‘यहाँ बाँदरले केहि खान दिंदैन’उनले भने,‘भाउ बढेयो भने रोप्नलाई बिउ चै जोहो गरेर बसेका छौं ।’
मूल्य गिरावट संगै गाउँका अदुवामा फल कुहुने रोगका कारण उक्त क्षेत्रका ५४ घर भन्दा बढी किसानहरु प्रभावित भएको उनको भनाई छ ।
सरकारले भारत सरकार संगै ब्यपारीक सम्झौता नगरेको कारण मूल्य परिवर्तनमा मनपरी भएकाले अदुवाको मूल्यमा समस्या आएको धनकुटा छिन्ताङका अदुवा ब्यपारी मातृका राईको भनाई छ ।
दुईपक्ष बीच सम्झौता नहुंदा ब्यपारीहरुको मनोमानिमा अदुवा लानुपर्ने र नेपाली अदुवामा मिसावट गरिदिने भएकाले पनि समस्या आएको उनको भनाई छ ।
उनले भने भारत निकासी गर्दा त्यहाँको सरकार संग हैन ब्यपारीहरु संग अनुमति लिनुपर्ने अबस्था छ । यस्तो अबस्था रहे सम्म अदुवाको ब्यपारमा कुनै सुधार नहुने उनको तर्क छ ।
यो बर्ष बाली निकाल्ने शुरु भएको धनकुटामा गत बर्ष २ सय ५५ हेक्टरमा अदुवा खेती भएको थियो ।
जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक अनुसार १४ करोड ६३ लाख ६० हजार बरावरको ४ हजार ६६ मेट्रिक टन अदुवा जिल्ला बाहिर निर्यात भएको थियो ।
तस्वीर : बारीको अदुवा देखाउँदै संगिता र कृष्ण कार्की


