जङ्गल बन्दै चियाबगान !

धनकुटा खबर । चिया कारखानाहरूलाई हरियो पत्ति अभाव भईरहँदा चिया बगान भने जङ्गलमा परिणत भइरहेका छन् । मजदुर अभाव भएको जनाएर धनकुटाका चिया कारखाना र किसानहरूले हरियो पत्ति टिप्न छाडेपछि यस्तो भएको हो । किसान र उद्योगले आफूले लगाएको चिया बगानबाट पत्ति टिपेर कारखानासम्म पुर्याउन मजदुर अभाव भएको जनाएका हुन् ।

धनकुटाका तीन चिया उद्योगहरूले मजदुर अभावमा आफ्नो र किसानको बगानबाट हरियो चियापत्ति टिप्न नसक्दा बगान जङ्गल बन्दै गएको र बार्षिक १० प्रतिशतभन्दा बढी तयारी अर्थोडक्स चिया उत्पादन गर्न नसकेको जनाएका छन् । ती उद्योगहरूमा साढे पाँच लाख किलो हरियो पत्ति प्रशोधन गर्ने क्षमता भए पनि हाल पत्ति घटी हुँदा बाहिर जिल्लाबाट पनि ल्याउने गरिएको छ । हाल तेह«थुम जिल्लाबाट वर्षमा एक लाख किलोभन्दा बढी हरियो पत्ति ल्याइँदै गरेको उद्योगहरूले बताएका छन् ।

धनकुटाको सबैभन्दा ठूलो चिया कारखाना रहेको उद्योग गुराँसे टि स्टेटको २५ प्रतिशत बगान टिप्न नभ्याएर जङ्गल बन्दै गएको त्यहाँका ब्यवस्थापक नविन कार्कीले बताएका छन । ‘कामदार अभावमा ५०० रोपनीभन्दा बढी बगान जङ्गल भएको छ’, उनले भने, ‘उद्योगलाई चाहिने चिया पत्ति समेत तेह«थुमबाट ल्याउनु परेको छ ।’

यस उद्योगलाई मात्र वार्षिक छ लाख किलो हरियो पत्ति चाहिने कार्कीको भनाई छ । अहिले तयारी चिया पनि घटेको उनले बताए । उनका अनुसार उद्योगले लगाएको दुई हजार २०० रोपनी बगानको चिया टिप्न ४०० जनाभन्दा बढी मजदुर चाहिने भएपनि हाल उद्योगमा २०० जनामात्र मजदुर छन् । ‘त्यही कारण पत्ति टिप्न नसकिएको हो’, उनले थपे ।

बार्षिक ८० हजार किलो चिया उत्पादन क्षमता राख्ने हिलेको जुन चियाबारी टि–गार्डेन प्रालिले पनि चियापत्ति अभावमा बार्षिक १४ हजार चिया मात्र उत्पदन गर्दै आएको छ । त्यहाँका ब्यवस्थापक राजेश कटुवालका अनुसार चार सयबढी कामदार आवश्यक रहेपनि हाल डेढसय जनामात्र भएकोले उद्योगको एक हजार ३८४ रोपनी बगानमध्ये ३० प्रतिशत बगानको हरियो पत्ति टिप्न नसकेर जङ्गल भएको छ । उनले भने, ‘मजदुर अभावमा उद्योगको ४०० रोपनीभन्दा बढी चिया टिप्न सकिएको छैन ।’

बार्षिक चार लाख किलो हरियो पत्ति चाहिने भएपनि चिया पत्ति नपाउँदा ६० हजार किलोले नै उद्योग चलाईरहेको र क्षमताअनुसार कारखाना सञ्चालन गरेर तयारी चिया उत्पादन गर्न नसक्दा बार्षिक करोडौँ घाटा भईरहेको उनले बताए ।

त्यस्तै हिलेकै टि–प्लान्टेसनले पनि चिया मजदुरको अभावमा आफ्नो उद्योगले लगाएको ७०० रोपनीको १० प्रतिशत चिया टिप्न नसकेर जङ्गल भएको जनाएको छ । बार्षिक ७५ हजार किलो तयारी चिया उत्पादन गर्ने क्षमता भएपनि चियापत्ति अभावमा १० हजार किलोमात्र तयारी चिया उत्पादन गर्दै आएको, उद्योगको ७० रोपनीभन्दा बढी चिया खेती जङ्गल बनेको लेखा प्रमुख कृष्ण दाहालले बताए ।

ठूला उद्योगले तयारी चियाको मूल्य नै कम भएकाले मजदुरलाई पारिश्रमिक कम दिनु परेको जनाएका छन् ।

किसानहरूले पनि सरकारले तोकेको मूल्यभन्दा बढी ज्याला दिँदा समेत मजदुर नपाएको र उद्योगले पनि मजदुर अभाव देखाउँदै चिया टिप्न छाडेपछि चिया खेती जङ्गलका रुपमा छाडेको बताएका छन् । हरियो चिया पत्तिको मूल्य कम पाइने गरेको, सोही मूल्यको आधारमा मजदुरलाई पारिश्रमिक दिनुपरेको अनि त्यो पारिश्रमिक अन्य काममा भन्दा अत्यन्तै न्यून भएको उनीहरूको भनाई छ ।

सरकारले तोकेको २५३ रुपैयाँ ज्यालामा थपेर ३०० र खाजा दिँदासमेत काम गर्ने मजदुर नपाईने पाख्रिबास नगरपालिकास्थित राम्चे चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष मदन राईले बताए । उनले भने, ‘चिया टिप्न त्यो भन्दा बढी दिँदा फाईदा हँुदैन, अरुतिर एक हजारसम्म ज्याला पाएपछि चिया टिप्न कोहि आउँदैन ।’

हाल किसानहरूले हरियो चियाको मूल्य प्रतिकिलो ५३ देखि ६५ सम्म पाईरहेका छन् । पत्तिको मूल्य प्रतिकिलो १०० रुपैयाँ नभएसम्म किसानले मजदुरलाई राम्रो ज्याला दिएर चिया खेती गर्न सक्ने अबस्था नरहेको उनले बताए । मजदुर अभावका कारण राम्चे गाउँमा ६३ किसानहरूले एक हजार ५०० रोपनीमा लगाएको चियामध्ये ९०० रोपनीभन्दा बढी चियाबगान जङ्गल भएको राईले बताए ।

भिरगाउँ २ धनकुटाका राष्ट्रपति कृषक पुरस्कार बिजेता चन्द्रलाल तामाङ्गले मजदुर अभाव देखाउँदै उद्योगले चिया लान छाडेपछि ६० रोपनी जमिनको चियाबगान नष्ट गरेर घाँस लगाएका छन् । धनकुटा १ ओक्मालुङ्गका यूवा कृषक अर्जुन राईले पनि २०५० सालबाट लगाएको ४०० रोपनीको बगान जङ्गल छाडेको बताए । उनले भने, ‘स्थानीय जनतालाई टिपेर खानु भनेर छाडिदिएको छु ।’ उनले कामदार अभावमा उक्त क्षेत्रका २३ जना किसानले चिया बगान जङ्गलका रुपमा छाडेको पनि बताए ।

यता धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ का ७१ बर्षीय मानबहादुर मगरले पनि २०५६ सालमा १० रोपनीमा लगाएको चिया त्यसै जङ्गल छाडेका छन् । आफ्नो परिवारले मात्र नभ्याउने भएकाले गएको पाँच बर्षअघिदेखि चिया खेती जङ्गल छाडेको उनले बताए ।

हाल चिया मजदुरको ज्यालाबापत धनकुटाका ठूला उद्योगहरूले सरकारी नियमानुसार सेवा सुविधासहित दैनिक २५३ रुपैयाँ दिने गरेको जनाएका छन् भने किसानले दुईसय ७५ देखि तीनसय रुपैयाँसम्म दिने गरेका छन् । उक्त ज्यालादर अन्य कामको भन्दा कम भएकाले मजदुर चियाको काममा जान चाँहदैनन् । मजदुर नहुँदा चिया टिप्ने, गोडमेल गर्ने काम हुन नसकेको हो ।

मजदुरले चाहिँ चियामा काम गर्दा दैनिक रोजगारी नै नबस्ने गरेको जनाउने गरेका छन् । ११ बर्षसम्म धनकुटाका विभित्र चिया उद्योगहरूमा काम गरेर गत बर्षमात्र काम छाडेका धनकुटा ६ पात्लेखोला निबासी ३६ बर्षीय बिष्णुबहादुर कटुवालले कम ज्याला पाएको र सेवासुविधा पनि नपाएकाले काम छाडेको बताए । उनले भने, ‘दिनभर काम गर्दा मासिक साढेसात हजार हुन्थ्यो । त्यसले नपुगेर १५ हजारका लागि दिन र रात नै काम गरेँ । तर नसकेर काम छाडिदिएँ ।’

हाल धनकुटा ६ को ओम बिष्कुट उद्योगमा मासिक १५ हजार तलबमा काम गरिरहेका उनले चिया उद्योगमा भन्दा बढी कमाई भइरहेको सुनाए । चिया क्षेत्रमा अन्य पेशामा अहिले पुराना कामदारले मात्र काम गरिरहेको र नयाँ पुस्ताका मजदुरहरू काममा आउन नचाहने गरेको हिलेको कुवापानी टि–स्टेटका चौकिदार डम्बर शाहीले बताए ।

०६२ सालबाट चिया मजदुरका रूपमा काम गरिरहेका धनकुटा १ निगालेका ४२ बर्षिय शाहीले बिकल्प नहुनेहरू मात्र अब चिया मजदुरका रुपमा आउने गरेको पनि बताए । ज्याला कम भएकै कारण कुवापानी टी स्टेटमा कार्यरत २५ जनाभन्दा बढी मजदुरमध्ये अहिले १० जनामात्र रहेको उनको भनाई थियो ।

शाहीले भने, ‘मासिक सात हजार ५०० रुपैयाँ तलब छ । घर खर्च नै टर्दैन । श्रीमतीले सिलाइ बुनाईको काम गर्ने भएकाले अभर टर्छ ।’ श्रीमतीको टेलरिङ पसलमा काम गर्ने ज्यामीलाई दैनिक ५०० रुपैयाँ दिने गरेको र आपूmले चिया कारखानामा २५३ रुपैयाँ पाउने गरेको उनले सुनाए । उनी ‘अब काम छाडेर बैदेशिक रोजगारीमा जाने’ भत्र थालेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष नारायण तामाङले पनि न्यून ज्याला भएको र सेवा सुविधा नपाएकोले चिया टिप्ने मजदुर अभाव भएको जनाए । उनले भने, ‘अरु काम गर्दा एउटा मजदुरले दैनिक एक हजार सम्म कमाउँछ’, उनले भने, ‘यहाँका उद्योगहरूले सेवा÷सुविधा नदिंदा मजदुर नपाउने र पाएपनि दीगो काम नगरी उनीहरूले काम छाड्ने गरेका छन् ।’

नेपाल चिया तथा कफि विकास बोर्डको हिलेस्थित कार्यालयका प्राविधिक एकराज सञ्जेलका अनुसार एक जना मजदुरले दैनिक पाँच किलो हरियो पत्ति टिप्छन् । अहिले हरियो पत्तिको मूल्य प्रतिकिलो ६५ रुपैयाँसम्म पाउने गरेका किसानले एक मजदुरलाई दैनिक खाजा सहित ३०० रुपैयाँ दिन्छन् । किसानले एउटा मजदुरले टिपे बराबरको पत्ति ३२५ रुपैयाँमा कारखानामा साट्छ । किसानको पत्तिबाट कमाई एक मजदुरले टिपे बराबर २५ देखि ५० रुपैयाँ हुन आउँछ । यही कारण पनि किसानले मजदुरलाई बढी ज्याला दिन नसकेको प्राविधिक सञ्जेलको भनाई छ ।

मजदुरको अभावमा हाल उद्योगहरूले लगाएको ३५ प्रतिशत र किसानले लगाएको ३० प्रतिशतसम्म चिया खेती जङ्गलमा परिणत भएको पाइएको छ । २०३९ सालबाट चिया बिस्तार भएको धनकुटामा हाल ठूला बगानमा ४७८ र किसानको बारीमा ४७४ गरि जम्मा ९५२ हेक्टरमा चिया खेती रहेको चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ । त्योमध्ये १६ हेक्टरमा चिया बिस्तार योजनाको बगान छ ।

२०४५ सालसम्म तिब्र रुपमा बिस्तार भएको चियाखेती २०६७ सालदेखि बिस्तार रोकिएको र २०७१ सालदेखि कतिपय किसानले चिया टिप्न छाडेको बोडको हिलेस्थित कार्यालयका प्रमुख रामएकवाल यादवले बताए । हाल तीस हेक्टरभन्दा बढी बगान चिया किसानले जङ्गलका रूपमा छाडेको र अरु किसानको बगान साना–ठूला उद्योगहरूले भाडामा लिएर चलाए पनि त्यहाँसमेत मजदुर अभावमा पत्ति टिप्न नसकेको पाइएको प्रमुख यादवको भनाई थियो ।

बोर्डको वेभसाइटमा राखिएको तथ्याङ्कले प्रत्येक आर्थिक वर्षमा हरियो चियापत्ति उत्पादन बढ्दै गएको देखाए पनि आर्थिक बर्ष २०७०÷०७१ सालदेखि चिया खेती र उत्पादन बढ्न नसकेको बोर्डकै हिलेस्थित कार्यालय, स्थानीय उद्यागी तथा कृषकको भनाई छ । वेभसाइडको तथ्याङ्कमा भने आव २०७०÷०७१ मा ४८० किसानको २२९ हेक्टरमा ७८ हजार २९१ किलो पत्ति उत्पादन भएको छ भने ०७२÷७३ मा बढेर ४९१ किसानको ४७४ हेक्टरमा ९९ हजार ४५६ किलो उत्पादन भएको छ । त्यस्तै ठूला बगानतर्पm ०७०÷७१ म २३५ हेक्टरबाट ६० हजार ८१० किलो हरियो पत्ति उत्पादन भएकोमा ०७२÷७३ मा ४७८ हेक्टरमा ८० हजार ४३६ किलो उत्पादन भएको छ ।

तर बोर्डको हिलेस्थित कार्यालयको तथ्याङ्क भने फरक छ । २०७१ सालबाटै किसानहरूले चिया टिप्ने क्रम घट्दै गएकाले हाल ३० प्रतिशतभन्दा बढी किसानको चिया बगान जङ्गल बन्दै गएको कार्यालय प्रमुख यादवले दोहो¥याए । हिलेको तथ्याङ्कअनुसार आब ०६७÷६८ मा चार लाख २५ हजार किलो हरियो चियापत्ति उत्पादन भएको धनकुटामा गत आब ०७३÷७४ मा तीन लाख २० हजार किलो मात्र उत्पादन भएको छ । चिया खेतीको क्षेत्रफल बढेपनि पत्ति नटिप्दा उत्पादन घटेको यादवले बताए ।

राष्ट्रिय चिया उत्पादक सहकारी संघका केन्द्रीय सदस्य समेत रहेका जिल्ला चिया उत्पादक सहकारी संघका धनकुटा अध्यक्ष इन्द्र सारु मगरका अनुसार बढी पारिश्रमिक दिँदा किसानलाई घाटा हुने र नदिंँदा मजदुर नआउने भएकाले चिया खेती जङ्गल भएको हो ।

उनले एक पटक लगाएपछि अन्य बालीजस्तो चिया पुनः लगाउनु नपर्ने र मजदुरले पारिश्रमिकसँगै सञ्चयकोष, बिरामी खर्च जस्ता सुबिधा पाउने भएपनि यसलाई बुझाउन नसक्दा र चिया नीति कार्यान्वयन नहुँदा धनकुटाको हात्र्तिखर्क, सात्रे, ताँखुवा, परेवादिन, पाख्रिबास, फलाँटे, हिलेका अधिकाँश किसानले चिया टिप्न छाडेको बताए ।

उनले भने, ‘चिया नीति २०५७ कार्यान्वयनसहित किसान तथा मजदुरलाई चियाखेतीमा आकर्षित नगरे धनकुटाको चिया खेती जङ्गल बत्रे क्रम जारी रहनेछ ।’

धनकुटा तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको र तरकारी खेतीमा किसानको आकर्षण बढेकोले पनि किसानले चियामा कम ध्यान दिन थालेको पाइएको छ । किसानले बर्षमा तीन पटकसम्म तरकारी बालीको फसल लिएर एक रोपनीबाट ७५ हजार रुपैयाँसम्म आर्जन गर्ने गरेका छन् भने चियाबाट त्यति आम्दानी लिन नसकिरहेकोले पनि खेती छाड्दै गएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सूर्य सापकोटाले बताए ।

अहिले डेनमार्क सरकारको सहयोगमा कृषि मन्त्रालयले उत्रति समावेशी बृद्धि कार्यक्रममार्फत चियाखेती प्रबद्र्धनका लागि धनकुटामा पनि काम गरिरहेको छ । धनकुटामा उन्नतिको सहयोगमा पूर्वाधार निर्माणअन्तर्गत तीन वटा सडकहरू निर्माण भइरहेका छन् भने मूल्य श्रृङ्खला अन्तर्गत दुईवटा परियोजना सञ्चालन भइरहेका छन् । त्यसैगरि चियासहितका चारवटा नगदे उत्पादनको प्रवद्र्धनकै लागि उन्नति परियोजनाअन्तर्गत नै इन्टरनेशनल लेबर अर्गनाइजेसनमार्पmत पनि धनकुटामा विभिन्न परियोजनाहरु सञ्चालन भइरहेका छन् । नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, ट्रेड युनियनहरु,चियासम्बन्धी सहकारी संघसंस्थाहरुसमेतको संलग्नतामा सञ्चालन भइरहेका यी परियोजनाहरुले चियाको क्षेत्रमा उत्तरदायी ब्यवसाय सञ्चालनका लागि वातावरण बनाउन सहयोग पुग्ने बताइएको छ ।

तस्वीर :

–मजदुर अभावमा जंगल भएको चिया बगान देखाउँदै धनकुटाको ६ थर जोरपाटी गाउँपालिकाका मानबहादुर राना मगरका छोरा भेष बहादुर राणा मगर ।

–कामदार अभावमा धनकुटा पाख्रिबास स्थित राम्चे गाउँका किसानहरूले काटछाँट नगरी जंगलको रुपमा छाडेको चिया खेती ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।