सेकुवा बेचेरै लखपति !
धनकुटा खबर । बैदेशिक रोजगारले जीवन नचलेपछि सेकुवा ब्यापारमा लागेका धनकुटा १ हिले बजारका ४३ बर्षिया यज्ञ प्रसाद लिम्बु लखपति बनेका छन् ।
दुई दशक अघि साउदी अरबबाट फर्किएर सेकुवा ब्यपारमा लागेका लिम्बुले कालो बंगुरको सेकुवा बेचेर ५० लाख भन्दा बढीको दुई वटा घर–घडेरी जोडेको बताए ।

पाँच बर्ष अरब बसेर नेपाल फर्किपछि २०४१ सालमा हिले बजारमा कोठा भाडा लिएर लिम्बुले कालो बंगुरको सेकुवा बेच्न शुरु गरेका थिए ।
दुई केजी मासुबाट सेकुवा बेच्न शुरु गरेका लिम्बले अहिले दैनिक ६० केजी सम्मको बंगुरको सेकुवा बेच्ने गरेको बताए ।
‘बिदेशमा कमाएको पैसाले साहुको ऋण तिर्नै मात्र ठिक्क भो’,उनले भने,‘थोरै नाफा खाएर लामो समय व्यपारमा टिक्ने नीतिले सफल भएं ।’
प्रति सिल ४० रुपैंयाको दरले बंगुरको सेकुवा बेचेर उनले अहिले दैनिक १५ हजार सम्मको व्यपार गरिरहेको बताए ।
धनकुटाको ताँखुवा गाबिस स्थाई घर भएका लिम्बुले २०६५ सालबाट सुब्बा सेकुवा कर्नर दर्ता गरेर अहिले आफ्नै घरमा सम्पूर्ण परिवारका साथ सेकुवा बैच्दै आएका छन् ।
उनको होटलमा अहिले नेपालको पूर्व र तेश्रो मुलकबाट भ्रमणमा आएका बिभिन्न पर्यटकहरुले समेत सेकुवा खाने गरेका छन् ।
सेकुवा बेचेर १५ जनाको परिवार पालेर मासिक २५ हजार सम्म कमाउने गरेको उनको भनाई छ ।


