मोरङमा दुर्घटना गराएर फरार मोटरसाइकल चालक १६ दिनपछि पक्राउ
विराटनगर । मोरङको ग्रामथानमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिई फरार भएका चालक १६ दिनपछि पक्राउ परेका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी ७० वर्षीया नरमाया त्रितालको उपचारका क्रममा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत असोज २४ गते साँझ करिब ७ बजे ग्रामथान गाउँपालिका–५ स्थित तेतरिया चोकको विराटचोक–घिनाघाट सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय नरमाया त्रिताललाई ठक्कर दिएको थियो।
ठक्कर दिएपछि चालक मोटरसाइकलसहित फरार भएका थिए। घाइते त्रितालको उपचारका क्रममा असोज २५ गते बिहान करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी तेतरियाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनास्थल वरपर जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने को ३९ प ३४६ नम्बरको पल्सर मोटरसाइकल र चालकको पहिचान खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले ग्रामथान गाउँपालिका–३ सिद्राहा झोसटोलका २६ वर्षीय अभिषेक कुमार माझीलाई कात्तिक ९ गते दिउँसो करिब ३ः३० बजे आफ्नै घरबाट पक्राउ गरेको हो। उनको घरबाट दुर्घटनामा संलग्न मोटरसाइकलका विभिन्न भाग फुटेको र कुच्चिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका माझीलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


