धनकुटा सहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको आग्रह
धनकुटा । बंगालको खाडीमा विकसित चक्रवातका कारण धनकुटा सहित कोशी प्रदेशका विभिन्न जिल्लामा कात्तिक १२ देखि १४ गतेसम्म चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट जारी पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले सोमबार सूचना जारी गरी सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
प्रशासनका अनुसार उक्त अवधिमा बाढी, पहिरो, डुबान तथा हावाहुरीको जोखिम रहनुका साथै सडक तथा हवाई यातायात र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्नेछ।
प्रशासनले किसानलाई कात्तिक १२ गते बिहीबारअघि नै धानबाली काट्ने र भित्र्याउनेलगायत कृषि कार्य सम्पन्न गर्न आग्रह गरेको छ। त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र गइसकेका भए सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।
भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा सवारीसाधन नचलाउन तथा आधिकारिक निकायबाट जारी हुने मौसम पूर्वानुमान र पूर्वसूचनाको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ।
सम्भावित जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न स्थानीय तहलाई अनुरोध गरिएको छ। साथै, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सम्बन्धित निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।
विपद् परेमा यी नम्बरमा सम्पर्क गर्न सकिने
जिल्ला प्रशासन कार्यालयले विपद्जन्य घटना भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरेको छ।
– जिल्ला प्रशासन कार्यालय, धनकुटा: ९८५२०७०१७७
– भीमदल गण, सल्लेरी ब्यारेक: ९८५२०७२१०२
– जिल्ला प्रहरी कार्यालय: १०० / ९८५२०८०८५५
– सशस्त्र प्रहरी बल नेपाल, नं. ६ गुल्म हे.क्वा. छिन्ताङ: ९८५१२७२२०८
– जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४
जिल्ला प्रशासन कार्यालय धनकुटाले सम्भावित विपद्को जोखिमबाट बच्न सबै नागरिकलाई सतर्क रहन र सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।


