मैत्री पुलमा ई-रिक्साको मनपरी पार्किङले सास्ती, व्यवस्थापन गर्न सरोकार मञ्चको दबाब
रौतहट, १० कार्तिक। वीरगञ्ज–रक्सौल जोड्ने नेपाल–भारत मैत्री पुलमा ई–रिक्साको अव्यवस्थित पार्किङले सीमा वारपार गर्ने यात्रुलाई सास्ती बढाएको भन्दै सरोकार मञ्चले तत्काल व्यवस्थापन गर्न माग गरेको छ।
पुलको दुवैतर्फ ई–रिक्सा जथाभावी रोक्ने प्रवृत्तिका कारण सवारी आवागमन प्रभावित हुँदै आएको छ। बिहानदेखि साँझसम्म पुल आसपास हुने अव्यवस्थित पार्किङले जामको समस्या निम्त्याउँदा नेपाल र भारतबीच आवतजावत गर्ने यात्रु, स्थानीय बासिन्दा तथा सीमावर्ती क्षेत्रका नागरिकले हैरानी खेप्नुपरेको मञ्चको भनाइ छ।
यही समस्यालाई लिएर मञ्चका प्रतिनिधिहरूले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै पुल क्षेत्रको यातायात व्यवस्थापन प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छन्।
पर्वको भीडअघि नै व्यवस्थापन गर्न माग
दीपावली र छठ पर्व नजिकिँदै गर्दा वीरगञ्ज–रक्सौल नाकामा यात्रु तथा सवारीसाधनको चाप बढ्ने सम्भावनालाई ध्यानमा राखेर मञ्चले समयमै आवश्यक कदम चाल्न आग्रह गरेको छ। पर्वका बेला किनमेल गर्न नेपाल र भारत दुवैतर्फबाट ठूलो सङ्ख्यामा मानिस रक्सौल बजार पुग्ने भएकाले मैत्री पुल आसपासको आवागमन थप अस्तव्यस्त हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
सामान्य अवस्थामै पार्किङ व्यवस्थापनको अभावले जामको समस्या देखिँदै आएको अवस्थामा पर्वको भीड थपिँदा यात्रुले झन् बढी सास्ती भोग्नुपर्ने अवस्था आउन सक्ने मञ्चले जनाएको छ। त्यसैले समस्या गम्भीर बन्नुअघि नै सम्बन्धित निकायले प्रभावकारी व्यवस्था मिलाउनुपर्नेमा मञ्चले जोड दिएको छ।
ई–रिक्साका लागि निश्चित स्थान तोक्न सुझाव
मञ्चले मैत्री पुलको दुवैतर्फ ई–रिक्सा जथाभावी पार्किङ गर्न रोक लगाउन, तिनका लागि छुट्टै पार्किङस्थल निर्धारण गर्न र नियमित अनुगमनको व्यवस्था मिलाउन माग गरेको छ। पुलजस्तो संवेदनशील सीमा क्षेत्रमा सवारी व्यवस्थापन व्यवस्थित हुन नसक्दा यात्रुको समय खेर जाने मात्र नभई दैनिक आवागमनसमेत प्रभावित हुने गरेको मञ्चको ठहर छ।
ई–रिक्सालाई निश्चित स्थानमा राख्ने व्यवस्था कार्यान्वयन गर्न सके जाम न्यूनीकरण हुनुका साथै नेपाल–भारतबीच आवतजावत गर्ने सर्वसाधारणले राहत पाउने मञ्चको विश्वास छ। ज्ञापनपत्र बुझाउने क्रममा सरोकार मञ्चका सचिव राजेश कुमार वर्मा तथा सदस्यहरू रञ्जन किशोर मिश्र र पिंकी कुमारी उपस्थित थिए।
ज्ञापनपत्र बुझ्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने र यसको स्थायी समाधान खोज्ने आश्वासन दिएको मञ्चले जनाएको छ।


